
इलाम जिल्लाको इलाम बजारमा बिहानको घाम नउदाउँदै कुन्दन तामाङको दिन सुरु हुन्छ। बिहान ठीक ५ बजे उनी कोरियन भाषा कक्षा जान कोठाबाट निस्कन्छन्। बाक्लो कुहिरो, चिसो हावा र थकानभन्दा ठूलो उनको एउटै लक्ष्य छ, कोरियन भाषा पास गरेर कोरिया पुग्ने सपना।
कक्षा सकेपछि कुन्दन सुन्तला डोकोमा हाल्छन् र दिनभर डुल्दै बेच्न हिँड्छन्। काँधमा भारी डोको, मनमा भारी जिम्मेवारी, तर आँखामा कहिल्यै नमर्ने आशा बोकेर उनी आफ्नो काम सुरु गर्छन।
उनको डोकोमा सुन्तलासँगै कोरियन भाषाका किताबहरू पनि हुन्छन्। ग्राहक कुर्दा, बाटोको छेउमा थकाइ मार्दा वा केही समय फुर्सद मिल्दा उनी किताब खोल्छन्। सुन्तला बेच्दै-बेच्दै शब्दहरू दोहोर्याउँछन्, वाक्य अभ्यास गर्छन्। उनका लागि पढाइ र श्रम दुवै जीवनका शिक्षक हुन्।
कुन्दन भन्छन्, “आज डोको भारी छ, तर भोलिको सपना झन् भारी छ।” उनी थाक्छन्, तर हार मान्दैनन्। परिस्थितिले रोकेको छैन, बरु अझ बलियो बनाएको छ।
इलामका कुन्दन तामाङ आज धेरैका लागि एउटा उदाहरण हुन्। सपना धनी हुनुपर्दैन, सपना देख्ने आँट चाहिन्छ। डोकोमा सुन्तला बोकेर हिँड्ने कुन्दनको यात्रा भोलि कोरियाको भूमिमा पुग्ने विश्वासमा अडिएको छ।





