
जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले इलाम जिल्लामा रहेका ९ वटा शाखाहरुमा आबद्ध विभिन्न केन्द्रका ८० जना सदस्यहरुलाई डिजिटल साक्षरता तालिम सफलतापूर्वक सम्पन्न गरेको छ। यो तालिम इलाम जिल्लाको रवि बजार र फिक्कल गरी दुई स्थानमा आयोजना गरिएको थियो। तालिमको प्रमुख उद्देश्य सहभागी सदस्यहरुलाई *Human ATM* को रूपमा विकास गरी उनीहरुलाई वित्तीय सेवा प्रविधिको प्रयोगमा दक्ष बनाउनु थियो , जसले गर्दा उनीहरु अन्य सदस्यहरुलाई बचत रकम राख्ने, रकम झिक्ने, रकम ट्रान्सफर गर्ने र रेमिट्यान्स सेवा प्रदान गर्न सक्षम हुनेछन् ।
यस तालिमले सदस्यहरुलाई डिजिटल भुक्तानी प्रणाली र मोबाइल बैंकिङ सेवाको प्रयोगमा प्रशिक्षण दिएर आर्थिक समावेशन र वित्तीय पहुँचलाई सहज बनाउने लक्ष्य राखेको छ। *Human ATM* को अवधारणा अन्तर्गत, तालिम प्राप्त सदस्यहरुले आफ्नो समुदायमा वित्तीय सेवा केन्द्रको रूपमा काम गर्नेछन्, जसले गर्दा बैंकिङ सेवा अझै गाउँगाउँसम्म पुग्नेछ र सदस्यहरु सजिलै वित्तीय कारोबार गर्न सक्नेछन्।
कार्यक्रममा जीवन विकास लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (CEO) संजय कुमार मण्डल, विभागीय प्रमुख रन्जना निरौला , विभागीय प्रमुख रमेश राय र संस्था को इलाम जिल्ला का जिल्ला प्रमुख सुशील कुमार सिठुङले सहभागिता जनाएका थिए। उनीहरुले यस तालिमको महत्व र यसले ल्याउने सकारात्मक प्रभावबारे चर्चा गर्दै सदस्यहरुलाई डिजिटल वित्तीय सेवामा पुर्णरुपमा सहभागी हुन प्रोत्साहित गर्नु भएको छ । साथै, यस किसिमका तालिमहरु संस्थाले वित्तीय साक्षरता र डिजिटल पहुँच विस्तार गर्ने रणनीतिको महत्वपूर्ण हिस्सा भएको पनि बताए।
जीवन विकास लघुवित्तले यस कार्यक्रममार्फत ग्रामीण र दुर्गम क्षेत्रका सदस्यहरुलाई आधुनिक वित्तीय सेवा प्रविधिसँग जोड्न सफल भएको छ। यसले सदस्यहरुको बचत प्रवृत्ति बढाउने, आर्थिक कारोबारमा पारदर्शिता ल्याउने र समुदायमा आत्मनिर्भरता बढाउने विश्वास गरिएको छ। डिजिटल साक्षरता तालिमले सदस्यहरुलाई वित्तीय कारोबारमा सहजता र सुरक्षा प्रदान गर्ने भएकाले यसले समग्र वित्तीय प्रणालीलाई मजबुत बनाउने अपेक्षा गरिएको छ।
यस प्रकारको पहलले वित्तीय समावेशनलाई थप सशक्त बनाउँदै स्थानीय स्तरमा आर्थिक विकास र समृद्धिमा योगदान पुर्याउनेछ। जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी दिनमा पनि यस्ता तालिमहरु निरन्तर सञ्चालन गर्ने योजना बनाएको छ, जसले सदस्यहरुको जीवनस्तर उकास्न र वित्तीय सेवा पहुँच विस्तार गर्न मद्दत पुर्याउनेछ।





