नयाँबजारमा मंसिर २ देखि १० सम्म बालाचतुर्दशी मेला लाग्ने
✍️ रोशन काफ्ले / माईजोगमाई

माइजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारमा परम्परागत रूपमा हरेक वर्ष लाग्नेगरेको बालाचतुर्दशी मेला यो वर्ष पनि आयोजना गरिने भएको छ ।
मेला आयोजक मूल समिति अध्यक्ष सञ्जय भण्डारीका अनुसार मंसिर २ देखि १० सम्म मेला सञ्चालन हुनेछ । गतवर्षको सफलतापछि यो वर्ष मेला अझै आकर्षक र व्यवस्थित बनाउन विभिन्न तयारी तीव्र गतिमा भइरहेको समितिले जनाएको छ ।
मेला अवधिभर नयाँबजार क्षेत्र धार्मिक, सांस्कृतिक र व्यापारिक गतिविधिले झनै चहलपहलमय बन्ने आशा आयोजकलाई छ । विशेषगरी मंसिर ३ गते पर्ने बालाचतुर्दशी मेलाको मुख्य दिनमा भने उत्तरे पोखरी, शिव मन्दिर क्षेत्र र बालागुरुको प्रतिमास्थलमा बिहानैदेखि भक्तजनको भीड लाग्नेगर्छ ।
बालाचतुर्दशीको दिन यी क्षेत्रमा आफ्ना दिवंगत पितृको सम्झनामा सतबीज छर्ने, दीप बोकेर परिक्रमा गर्ने, भाकल पूरा गर्ने तथा सन्त बालागुरुको सम्झनामा श्रद्धाञ्जली अर्पण गर्ने परम्परा वर्षौंदेखि चलिआएको छ ।
इलाम, झापा, पाँचथर, ताप्लेजुङसहित नजिकका जिल्लाबाट मात्र होइन, भारतका दार्जिलिङ, सिलगुडी, मिरिक, कस्र्याङलगायतका क्षेत्रबाट समेत भक्तजनहरू आउने गरेका छन् । धार्मिक क्रियाकलापसँगै मेलाले स्थानीय पर्यटन, खानपान, संस्कृतिको प्रचार–प्रसारमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।
यो वर्ष मेलामा स्थानीयस्तरमा उत्पादन गरिने खाद्य परिकारहरु रहनेछन् भने मेला अवलोकन गर्न आउनेले माइजोगमाईभित्रका पर्यटकीय क्षेत्रहरू, धार्मिक स्थलहरू र ग्रामीण प्राकृतिक सौन्दर्य पनि अवलोकन गर्न सक्नेछन् ।
मनोरञ्जनका लागि रोटेपिङ, डोल्पिङ, बालमैत्री खेलौना क्षेत्र, सांस्कृतिक झाँकी र विभिन्न खेलकुद गतिविधिसमेत रहने बताइएको छ । सांगीतिक क्षेत्रमा पनि यो वर्ष मेलामा विशेष आकर्षण रहने आयोजकको भनाइ छ ।
मंसिर ३ मा गायिका एलिना चौहान, मंसिर ६ मा रचना रिमाल र मंसिर १० मा राजेशपायल राईले प्रस्तुति दिने टुंगो भइसकेको छ । अन्य कलाकारहरूको नाम भने छिट्टै सार्वजनिक गरिने आयोजक समितिले जनाएको छ ।
परापूर्वकालदेखि लाग्दैआएको बालाचतुर्दशी मेलालाई स्थानीयले आफ्नो पहिचान, संस्कृति र सम्पदाको गौरवका रूपमा लिएका छन् । हरेक वर्ष हजारौंको सहभागितासहित सञ्चालन हुने यो मेलाले स्थानीय अर्थतन्त्रसमेत चलायमान बनाइदिने गर्छ। यो वर्ष पनि विभिन्न संघ–संस्था, सुरक्षा निकाय, स्वयंसेवक र स्थानीयको सहकार्यमा मेला सफलतापूर्वक सम्पन्न गर्ने तयारी गरिएको आयोजक समितिले बताएको छ ।





