खेलकुद

मकवानपुर गोल्डकपः बागमती एफसी सर्लाहीको विजयी सुरुवात

मकवानपुर जिल्ला फुटबल सघको आयोजनामा आजबाट हेटौँडामा सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा बागमती युवा क्लब सर्लाहीले विजयी सुरुवात गरेको छ ।

हेटौँडा–६ स्थित गौरीटार बहुउद्देश्यीय रङ्गशालामा मंगलबारबाट सुरु भएको गोल्डकपको उद्धघाटन खेलमा बागमती युवा क्लब सर्लाहीले जित निकालेको हो ।

उद्धघाटन खेलमा बागमतीले पाहुना टोली पारो एफसी क्लब भुटानलाई ३–१ गोलअन्तरले पराजित गर्‍यो । बागमतीको जितमा राज भुसालले २ तथा सृजन गौतमले एक गोल गरेका थिए । बागमतीका तर्फबाट भुसाल र गौतमले खेलको पहिलो हाफमा एक÷एक गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफको १६औँ मिनेटमा गौतमले थप एक गोल गर्दै बागमतीको जित सुनिश्चित गरे । खेलको अन्तिम चरणमा भुटानका तर्फबाट सृजुब दोर्जीले सान्त्वना गोल गरेका थिए ।

प्रतियोगितामा भुटानले केही राम्रा अवसर पाएको भए पनि गोल भने गर्न सकेन । खेलको म्यान अफ दी म्याच बागमतीका राज भुसाल घोषित भए । उनले नगद १० हजार र ट्रफी प्राप्त गरे ।

आगामी माघ २७ गतेसम्म सञ्चालन हुने छैटौँ संस्करणको मकवानपुर गोल्डकपमा १२ टोलीहरूको सहभागिता रहेको छ ।

प्रतियोगितामा बुधबार न्युरोड फुटबल क्लब (एनआरटी) र हिमालयन शेर्पाबिचको खेल दिउँसो २ बजेबाट सुरु हुने आयोजकले जनाएको छ ।

मकवानपुरका स्थानीय तहहरूको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख हात पार्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेछ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान बुलेट मोटरसाइकल हात पार्ने साथै विधागत उत्कृष्ट खेलाडीले जनही २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने जनाइएको छ ।(खेेेलपााटी)

Leave a Response