आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) इलामले ज्ञापन पत्र बुझाएको छ । नेपाल पत्रकार महासंघ इलाम मार्फत महासंघलाइ ज्ञापनपत्र बुझाएको हो । नेपाल पत्रकार महासंको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ रहेको प्रमाण हुँदा हुँदै कृष्ण प्रसाद भट्टराइ संस्थापक अध्यक्ष भनेको भन्दै यस्तो कदम प्रति विपत्ति रहेको ज्ञापन पत्रमा उल्लेख छ । २००८ साल बैशाख ९ गते सत्य नारायण बहादुर श्रेष्ठको नेतृत्वमा नेपाल पत्रकार संघ गठन गरेको र २००९ बैशाख २८ मा पुर्नगठन गरेको इतिहास रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ, तर २०१२ चैत्र १६ गते पुर्नगठन हुँदा कृष्णप्रसाद भट्टराई सभापति बन्नुभएको हो । तथ्यहरुले सत्यनारायण बहादुर श्रेष्ठ स्रंस्थापक सभापति पुष्टि भैसकेको अवस्थामा कृष्ण प्रसाद भट्टराईलाई संस्थापक अध्यक्ष भनेर भट्टराईको अपमान गरेको उल्लेख छ । यता नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष विप्लव भट्टराईले ज्ञापन पत्र बुझ्दै यथार्थ कुरालाई अघिबढाउनु पर्ने बताएका छन । उनले तत्काल केन्द्रिय समितिमा ज्ञापन पत्र पठाउने बताए । फोनिज इलामका अध्यक्ष राम कुमार लिम्बु सहित सृजना श्रेष्ठ, सुनिता राई र शान्ति गुरुङले संयुक्त ज्ञापन पत्र बुझाएका हुन ।
ज्ञापन पत्र
मितिः २०७९/५/१५
श्री अध्यक्षज्यू
नेपाल पत्रकार महासंघ
केन्द्रीय कार्य समिति, काठमाडौँ ।
मार्फत,
नेपाल पत्रकार महासंघ
इलाम शाखा
विषय स् ज्ञापनपत्र
नेपालका श्रमजीवी पत्रकारको नेतृत्व संस्थाका रूपमा ‘नेपाल पत्रकार महासंघ’ स्थापित छ । तत्कालीन ‘नेपाल पत्रकार संघ’ हुँदै महासंघका रूपमा विशाल आकार प्रदान गर्न धेरै अग्रज नेतृत्वले अतुलनीय योगदान गर्नुभएको छ ।
अधिकारका लागि कलम चलाउनसमेत नसकिने कहालीलाग्दो तत्कालीन परिस्थितिमा पत्रकारलाई संगठित गर्नु सामान्य काम थिएन । त्यो हिम्मत र साहस गर्नुहुने सत्यनारायणबहादुर श्रेष्ठसहित सम्पूर्ण अग्रज नेतृत्वप्रति नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० सम्मान व्यक्त गर्दछ ।
वर्तमान महासंघको जग इतिहासबाट बनेको हो । अर्थात्, वर्तमान नेपाल पत्रकार महासंघको जग तत्कालीन ‘नेपाल पत्रकार संघ’ नै हो । नेपाल पत्रकार संघ गठन गरेर नेपाली पत्रकारलाई पहिलो पटक संगठित गर्ने व्यक्ति सत्यनारायणबहादुर श्रेष्ठ हुनुहुन्थ्यो ।
विसं २००८ वैशाख ९ गतेको पत्रकार भेलाले सत्यनारायणबहादुर श्रेष्ठको नेतृत्वमा ‘नेपाल पत्रकार संघ’ गठन गरेको थियो । २००९ वैशाख २८ गते श्रेष्ठकै सभापतित्वमा तत्कालीन नेपाल पत्रकार संघ पुनर्गठन भयो । थप पत्रकारलाई संघमा संगठित गर्ने उद्देश्यसाथ संघको पुनर्गठन गरिएको थियो ।
अकाट्य तथ्यहरूका आधारमा हाल नेपाल पत्रकार महासंघ (तत्कालीन नेपाल पत्रकार संघ) को संस्थापक सभापति (हाल अध्यक्ष) सत्यनारायणबहादुर श्रेष्ठ हुनुहुन्थ्यो भन्ने कुराको प्रमाणका रुपमा दस्तावेजहरूले पुष्टि गरिसकेको छ । तर, नेपाल पत्रकार महासंघले अकाट्य तथ्यहरूलाई नजरअन्दाज गर्दै सन्त नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई संस्थापक अध्यक्ष मान्दै आएको छ । महासंघको यो कदमप्रति नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले गम्भीर विमति राख्दै आएको छ ।
वि।सं २०१२ चैत १६ गते नेपाल पत्रकार संघ पुनर्गठित हुँदा कृष्णप्रसाद उपाध्याय भट्टराई सभापति बन्नुभएको तथ्य साँचो हो । उहाँको योगदानको हामी सबैले उच्च कदर गर्नुपर्छ, आदरभाव प्रकट गर्नु पर्दछ ।
फोनिज समन्यायिक समाज निर्माणको मान्यताबाट अग्रसर छ । यसर्थ, सन्त नेता भट्टराईको सामाजिक, राजनीतिक योगदानको यथोचित सम्मान र कदर होस् भन्ने कुरामा हाम्रो बिमति छैन । तर, तथ्यहरूले ‘नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ हुनुहुन्छ’ भन्ने पुष्टि भइसकेको अवस्थामा ‘कृष्णप्रसाद भट्टराई नै संस्थापक अध्यक्ष हुनुहुन्छ’ भन्नु स्वयम् भट्टराईको निस्वार्थ योगदानको अपमान मात्र होइन, नेपाल पत्रकार संघ गठन गरेर पहिलो पटक नेपालका पत्रकारलाई संगठित गर्ने सत्यनारायणबहादुर श्रेष्ठको योगदानको अवमूल्यन गर्ने, अपमान गर्ने र इतिहास नामेट पार्न खोज्नु निसन्देह गलत काम हो ।
देशको प्रधानमन्त्री बनिसक्नु भएका भट्टराईलाई गलत तथ्यका आधारमा पत्रकार महासंघको संस्थापक मान्नु उहाँको योगदानलाई विवादित पार्नु र मानमर्दन गर्नु पनि हो । यस्तो कार्य कतै र कसैबाट पनि नहोस् भन्ने विषयमा फोनिज सचेत छ ।
प्राप्त तथ्य र प्रमाणहरूका आधारमा नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ नै हुनुहुन्छ । यो तथ्य सर्वस्वीकार्य बनिसकेको छ । यसर्थ, नेपाल पत्रकार महासंघले आफ्ना दस्तावेजहरूमा महासंघको संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराई हुनुहुन्छ भनी उल्लेख गरेका गलत विवरण सच्याएर ‘नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ हुनुहुन्छ’ भन्ने सही तथ्यलाई स्थापित गराउन यसै ज्ञापनपत्र मार्फत नेपाल पत्रकार महासंघसँग जोड्दार माग गर्दछौँ ।
राम योङहाङ
अध्यक्ष
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज०
जिल्ला समिति,इलाम।।