✍️ढाकानाथ खतिवडा
माईजोगमाई ईलाम
लामो बाटो पैदल हिडेर सुस्ताउँदै
बाटो बीचको खाेला तारेर
भाइले दिदीलाइ ल्याउँथ्याे
र पाे तीज आउँथ्यो ।
ढिकीमा भक्रयाङ च्याङ भक्रयाङ च्याङ
धान कुटेर चामल बनाउँदा
बारीको काँक्राले खल्पीकाे रूप लिन्थ्याे
र पाे तीज आउँथ्यो ।
कलाैरी र फूर्की गाइकाे दुधले
हर्पेमा राखेको घिउ झिकेर
चामल भुटेपछि दर बन्थ्याे
र पाे तीज आउँथ्यो ।
बारीमा फलेको अर्गानिक सब्जी
काेलमा पेलेकाे तेलमा
पर्पर भुटेर खाइन्थ्याे
र पाे तीज आउँथ्यो ।
बर्खा भरि काटेका दुःखका पाेका
थाेरै सुखका अनुभूति
माइती सँग छताछुल्ल पाेखिन्थ्याे
र पाे तीज आउँथ्यो ।
दुःखले जाेडेका थाेरै कपडा
पुछपाछ पारिएका गहना
रमाइ रमाइ लाइन्थ्याे
र पाे तीज आउँथ्यो ।
लामो समयको अन्तराल
टाढा टाढाका सङ्गीहरू
अकस्मात् अज्ञात भेट हुन्थ्यो
र पाे तीज आउँथ्यो ।।
add a comment