राष्ट्रियसमाचार

परिवारभर पत्रकारै–पत्रकार

झापा, मेचीनगर–८ को एक तिम्सिना परिवारबीच जमघट हुँदा घरको माहोल पत्रकार सम्मेलन नै हुन लागेझैं बन्छ । किनकि परिवारका सबै सदस्य पत्रकारिता पेसामा आबद्ध छन् । परिवारै पत्रकार देखेर छरछिमेकी पनि अचम्म मान्छन् । ६ मध्ये चार छोरा, तीन छोरी, दुई बुहारी र दुई ज्वाइँ पत्रकारिता गर्छन् ।

५० को दशकतिर माओवादी युद्ध चरमोत्कर्षमा हुँदा डरले तिम्सिना परिवार पूर्वी पहाडको तत्कालीन सुभाङ–२ बाट मधेस झरे । मधेस त झरे तर जीविकाको दिगो स्रोत थिएन । बुबाआमा खेती–किसानीतिर लागे । खेती–किसानीकै भरमा संयुक्त परिवार धान्न गाह्रो थियो । काइँला छोरा गणेश ‘जे भेटिन्छ त्यही’ काम गर्ने अठोटका साथ देहातबाट सहर पसे । इलाम क्याम्पस पढ्दाताका साइँलो दाजु बासुदेव आफ्नै सम्पादकत्वमा एक साहित्यिक पत्रिका निकाल्थे ।

त्यही बेलादेखि गणेशलाई पनि पत्रकारितामा चाख लाग्न थाल्यो । त्यही सिलसिलामा झापामा हकरको काम सुरु गरे । ‘पत्रिका बेच्दाबेच्दै पत्रकार पो भइएछ,’ गणतन्त्र एफएममा आबद्ध गणेशले दुःखका ती दिन सम्झिए । पत्रिका बिक्रीबाट पाउने थोरै रकम र विज्ञापनको केही प्रतिसत कमिसनबाट उनले परिवारलाई सघाए ।

यिनै गणेशको कामलाई अरू दाजुभाइ र दिदीबहिनीले पनि पछ्याए । हुन त तिम्सिना परिवारका पहिलो पत्रकार चाहिँ अन्तरे छोरा प्रवीण हुन् । तत्कालीन माओवादी युद्धताका सञ्चारकर्ममै सक्रिय उनी शान्ति सम्झौतापछि होटल व्यवसायतिर लागे । ‘मूलतः हामीलाई पत्रकारितामा जोड्ने श्रेय काइँला दाजुकै छ,’ कान्छो छोरा सुजनले भने, ‘दाइको पत्रकारिता देखेरै हामीले पनि रोजेका हौं ।’

हाल इलाममा बसेर पत्रकारितामा सक्रिय सुजन नेपाल टेलिभिजनका संवाददाता हुन् । त्यसअघि उनले एभिन्युजलगायत टीभीमा पनि काम गरेका थिए । उनी पनि सुरुमा हकरको काम गर्दै पत्रकारितामा छिरेका हुन् । स्कुले जीवनकालदेखि नै उनी झापाबाट प्रकाशन हुने पत्रपत्रिकाहरू बेच्थे । त्यही पैसाले घरकोसँगै पढाइ खर्च जोहो गर्थे ।

‘काइँला दाइ पछि दिदीहरूले पत्रिका बेच्न थाले, दिदीहरू पछि मैले सुरु गरें,’ सुजनले थपे, ‘म पछि कान्छी बहिनीले पनि त्यही काम सुरु गरिन् ।’ माहिली दिदी मञ्जु, साइँली दिदी निर्मला र कान्छी बहिनी सिर्जना पनि पछि पत्रकारितामै सक्रिय बने । गणेशकी श्रीमती निर्मला नेउपाने पेसाले शिक्षक भए पनि ‘मेकोस’ नामक द्विमासिक अखबार प्रकाशनमा पतिलाई सघाउँछिन् ।

माहिलो दाजु भोला पनि गणतन्त्र एफएममै आबद्ध छन् । साइँलो वासुदेव र श्रीमती पुजन मिश्र काठमाडौंतिरै बसेर पत्रकारिता गर्छन् । उनीहरू ‘क्रिसमन सञ्चार’ नामक द्विमासिक अखबार निकाल्छन् । सुजनकी श्रीमती गंगा पराजुली लोकल सन्देश डटकम नामक अनलाइन पोर्टलमा आबद्ध छिन्, तीन दिदीबहिनीमध्ये दुईका ज्वाइँ पनि पत्रकारितामै छन् ।

साइँली निर्मलाका पति दयाराम दाहाल (सुलभ) राससका पूर्वबोर्ड सदस्य र लोकल सन्देश डटकमका अतिथि सम्पादक हुन् । कान्छी सिर्जना र पति प्रज्ज्वल श्रेष्ठ मिरमिरे रेडियोमा आबद्ध छन् । (कान्तिपुरमा प्रकाशित पर्वत पोर्तेलको समाचार)

Leave a Response