सेवा–सुविधा मात्र होइन, पालिकाको विकासमा नागरिकको योगदान पनि आवश्यक : अध्यक्ष थेवे
नागरिकले ‘मैले के पाएँ?’ सँगै ‘समाजका लागि मैले के गरेँ?’ भन्ने सोच विकास गर्नुपर्नेमा अध्यक्ष थेवेको जोड

माईजोगमाई गाउँपालिका अध्यक्ष कुशबहादुर थेवेले पालिकाबाट प्राप्त हुने सेवा–सुविधासँगै नागरिकले आफ्नो समाज र पालिकाको विकासमा योगदान गर्ने दायित्व पनि बोध गर्नुपर्ने बताउनुभएको छ।
खोरेत रोग नियन्त्रण सम्बन्धी पाचौ चरणको खोप कार्यक्रममा खोपकर्ताहरूलाई विभिन्न सामाग्री हस्तानतरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थेवेले विगतदेखि नै सेवा–सुविधा तथा नागरिकका आवश्यकताका विषयमा विभिन्न प्रतिबद्धता र संकल्प गरिँदै आएको भए पनि नागरिकले आफ्नो दायित्वलाई पनि उत्तिकै महत्त्वका साथ लिनुपर्ने बताउनुभयो।
उहाँले नागरिकको सोच ‘के गर्दा कति पाइन्छ’ भन्नेमा मात्र सीमित हुन नहुने बताउँदै समाज निर्माणका लागि आफूले पनि केही योगदान गर्नुपर्छ भन्ने सकारात्मक सोचको विकास आवश्यक रहेको उल्लेख गर्नुभयो।
“हामीले भोलि आएर हाम्रो जे–जति समृद्धि हासिल गर्दैछौँ, त्यसमा नागरिकको पनि केही योगदान हुनुपर्छ भन्ने दायित्वबोध गर्नुपर्छ,” अध्यक्ष थेवेले भन्नुभयो।
उहाँले विदेश वा टाढाको क्षेत्रमा गएर योगदान गर्नु महत्त्वपूर्ण भए पनि आफ्नै गाउँ, समाज र पालिकाको विकासमा योगदान गर्नु अझ नजिकको दायित्व भएको बताउनुभयो। मानव जाति समाज र सभ्यताको विकासका लागि जिम्मेवार रहेको उल्लेख गर्दै उहाँले आफ्नै गाउँपालिका र समुदायको विकासमा सबैले आफ्नो तर्फबाट योगदान गर्नुपर्नेमा जोड दिनुभयो।
अध्यक्ष थेवेले सेवा–सुविधाका विषयमा उपलब्ध स्रोत र क्षमताअनुसार थप सुधार गर्न सकिने बताउनुभयो। नागरिकलाई उपलब्ध गराइने सेवा तथा सुविधाका विषयमा आगामी दिनमा पुनर्विचार र आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले नागरिकको योगदान र कर्तव्यपरायणताको सम्मान गर्न पालिका सदैव सकारात्मक रहेको बताउनुभयो।
“हामीले तपाईँहरूप्रति विगतदेखि नै विभिन्न हिसाबले सम्मान जनाउँदै आएका छौँ,” उहाँले भन्नुभयो, “समाज बनाउनका निम्ति मैले पनि केही गर्नुपर्छ, खालि मैले केही गर्छु भने त्यसको मूल्यमा मात्र हेर्नु हुँदैन भन्ने सकारात्मक सोचलाई हामीले अझै बढावा दिनुपर्छ।”
त्यस्तै, माईजोगमाई गाउँपालिका क्षेत्रका विभिन्न स्थानमा अझै पनि प्राकृतिक समस्या, व्यवसाय सञ्चालनसँग सम्बन्धित कमजोरी तथा प्राविधिक समस्या रहेको अध्यक्ष थेवेले उल्लेख गर्नुभयो।
यस्ता समस्या कहाँ–कहाँ छन् भन्नेबारे सम्बन्धित शाखामार्फत पालिकालाई जानकारी गराउन आग्रह गर्दै उहाँले तत्काल समाधान गर्न सकिने विषयमा पालिकाले आफ्नो क्षमताले भ्याएसम्म पहल गर्ने बताउनुभयो।
पालिकाको विकासका लागि जनप्रतिनिधि, कर्मचारी, नागरिक तथा सम्बन्धित सबै पक्षबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै अध्यक्ष थेवेले सबै मिलेर अघि बढेमा पालिकालाई अझ व्यवस्थित र समृद्ध बनाउन सकिने धारणा राख्नुभयो।
कार्यक्रमको अन्त्यमा उहाँले पालिकाको विकास र सामाजिक क्षेत्रमा योगदान पुर्याउने सबैप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहकार्य, जिम्मेवारीबोध र सकारात्मक सोचका साथ अघि बढ्न सबैलाई आग्रह गर्नुभयो।





