समाचार

पहिरोमा माइजोगमाईको कहर : ठूलो धनजनको क्षति

रोशन काफ्ले

असोज १८ रातिदेखिको अविरल वर्षासँगै आएको भीषण पहिरोले इलामको माइजोगमाई गाउँपालिकामा जनधनको ठूलो क्षति गरेको छ ।

पहिरोले मानिसको मृत्यु हुनुका साथै सडक, पुल, विद्यालय, पालिकाको भवनदेखि घर, चौपाया, खेतबारी र विद्युत् संरचनासम्ममा क्षति गरेको हो ।

गाउँपालिकाबाट प्राप्त प्रारम्भिक विवरणअनुसार ५९ भन्दा बढी घर–परिवार पूर्ण रूपमा विस्थापित भएका छन् । तीमध्ये धेरैको घर पहिरोले बगाएको छ भने केहीको बस्न अयोग्य बनेको छ । विस्थापित परिवार अहिले अस्थायी टहरा, विद्यालय भवन र आफन्तका घरमा आश्रय लिएर बसिरहेका छन् ।

८ जनाको मृत्यु, सयौँ चौपाया र बालीनाली नष्ट

माइजोगमाई–६ प्याङमा मात्र २ परिवारका ८ जनाको मृत्यु भएको पुष्टि भएको छ । ती परिवारका घर पहिरोले पूर्ण रूपमा बगाउँदा उद्धार गर्नसमेत कठिनाइ भएको स्थानीयले बताएका छन् ।

सयौँ पशु–चौपाया, बाख्रा, गाईभैंसी तथा कुखुरा बगाएको छ । पशु–चौपाय क्षति विवरण संकलन भइरहेको पशु शाखाले जनाएको छ । खेतबारीमा लगाइएको मकै, कोदो, अदुवा, अलैंची, अम्लिसो, धान, चियालगायत प्रमुख बालीनाली नष्ट हुँदा किसान ठूलो संकटमा परेका छन् । बिक्री गर्ने, थन्क्याउने बेला भएको बालीनालीमा क्षति हुँदा किसान आर्थिक समस्यामा छन्न ।

पालिका भवनमा करोडको क्षति

सबैभन्दा ठूलो भौतिक क्षति माइजोगमाई गाउँपालिकाको नयाँ प्रशासनिक भवनमा पुगेको छ । प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतका अनुसार पहिरो पालिका भवनको पछाडिबाट सरेर तल्लो तलासम्म माटो र लेदो बग्दै प्रवेश गरेको थियो ।

‘हिलो र माटोले कार्यालयका सम्पूर्ण कोठा भरिए, कम्प्युटर, प्रिन्टर, फाइल, खातापाता, सफ्टवेयर र प्रविधि सबैमा क्षति भयो,’ बस्नेतले भने । उनका अनुसार प्रारम्भिक हिसाबमा करिब करोड रुपैयाँको क्षति भएको अनुमान छ ।

पुरानो भवनबाट सेवा

भवनमा क्षति पुगेपछि गाउँपालिकाले अहिले अत्यावश्यक सेवा पुरानो प्रशासनिक भवनमा सरेर सञ्चालन गर्न थालेको छ । अत्यावश्यक बाहेकका काम गर्न कठिनाइ भइरहेको बस्नेतले जनाए ।

‘हाल हामी नागरिकता, दर्ता, स्वास्थ्य र राहतसम्बन्धी अत्यावश्यक सेवा सञ्चालन गरिरहेका छौँ तर अरू काममा ठूलो चुनौती छ,’ उनले भने।

उद्धार र राहत कार्य निरन्तर

पहिरोपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय जनप्रतिनिधि, गाउँपालिका कर्मचारी र सामाजिक अभियन्ता सक्रिय रूपमा उद्धार तथा सफाइमा जुटेका छन् । पालिका भवनभित्र प्रवेश गरेको माटो र लेदो हटाउने काम अझै जारी छ ।

स्थानीय स्वयंसेवकले विस्थापित परिवारलाई अस्थायी आवास, खाना र लत्ताकपडा उपलब्ध गराइरहेका छन् । गाउँपालिकाले तत्कालीन राहतका रूपमा खाद्यान्न, टेन्ट र स्वास्थ्य सामग्री वितरण गरेको जनाएको छ ।

क्षतिको पूर्ण विवरण आउन बाँकी

गाउँपालिकाले क्षतिको विस्तृत विवरण संकलनको काम जारी राखेको छ । विभिन्न वडाबाट प्राप्त विवरण एकीकृत गरी प्रतिवेदन तयार पार्ने तयारी भइरहेको छ । ‘सम्पूर्ण क्षतिको आधिकारिक तथ्याङ्क आउन केही समय लाग्छ,’ बस्नेतले भने, ‘तर, यो वर्षाको क्षति माइजोगमाईको इतिहासमै सबैभन्दा ठूलो हुनसक्छ ।’

 



पहिरोको जोखिम कायमै, स्थानीय त्रासमा

माइजोगमाईका दर्जनौँ बस्ती अझै पनि पहिरोको जोखिममा छन् । कतिपय ठाउँमा पहिरो रोकिएपनि भित्तामा दरार आएको र जमिन चर्किएको हुँदा त्रास छ । कतिपय सुरक्षित स्थानमा सर्ने प्रयास गरेपनि कतिपय बसाइँ सर्न सकिरहेका छैनन् ।

‘घर बग्यो, चौपाया गयो, बालीनाली सबै सकियो, अब कहाँ जाने हो थाहा छैन,’ माइजोगमाई–५ की एक विस्थापित महिलाले भनिन् ।

पुनर्स्थापनाका लागि पालिकाको तयारी

गाउँपालिकाले राहत, पुनर्स्थापना र पुनर्निर्माणलाई प्राथमिकतामा राख्दै तत्कालीन र दीर्घकालीन योजना बनाउन थालिएको जनाएको छ । प्रभावित परिवारको बसोबास, खानेपानी, स्वास्थ्य सेवा र शिक्षाको पहुँच सुनिश्चित गर्न संघीय र प्रदेश सरकारसँग सहकार्य गरिने बताइएको छ ।

‘यो प्राकृतिक विपत्तिले हाम्रो विकास योजना र कार्यतालिका पूर्ण रूपमा प्रभावित पारेको छ,’ बस्नेतले भने, ‘तर, हामी द्रुत पुनर्स्थापनाका लागि पूर्ण प्रयास गरिरहेका छौँ ।’

विनाशकारी पहिरोले गाउँको संरचनामात्र होइन, जनजीवन नै अस्तव्यस्त बनाइदिएको छ । अहिले पनि माटो र हिलोले ढाकिएका घर, खाली भएका बस्ती र रोइरहेका परिवारले त्यो रातको त्रास अझै सम्झिरहेका छन् । राहत र पुनर्स्थापनाको काम अघि बढ्दै गरेपनि पीडितका ‘घाउ’ निको हुन भने समय लाग्ने देखिन्छ ।

Leave a Response