
माइजोगमाई गाउँपालिका ३ र ४ मा क्रियाशील नामसालिङ साना किसान कृषि सहकारी संस्थाले आफ्ना सेयर सदस्यको निधनपछि परिवारलाई जीवन बिमा रकम हस्तान्तरणगरेको छ ।
सदस्य चन्द्रकला देवानको निधनपछि परिवारलाई म्यादी जीवन बिमाअन्तर्गतको तीन लाख रुपैयाँ हस्तान्तरण गरिएको हो । माइजोगमाई ३ की बासिन्दा तथा समूह नम्बर ३ सदस्य देवानको केही समयअघि ४९ वर्षको उमेरमा निधन भएको थियो ।
शनिबार संस्था अध्यक्ष विमल पौडेलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा समूहका विभिन्न सेयर सदस्य, लेखा समिति संयोजक, समिति सदस्य, सञ्चालक समिति सदस्यहरू साथै सहकारीका कर्मचारीको उपस्थितिमा रकम हस्तान्तरण गरियो । कार्यक्रममा मृतक सदस्यप्रति श्रद्धाञ्जली अर्पण गर्दै संस्थाले सहकारीमार्फत् सदस्यलाई प्रदान गरिने विभिन्न योजनाबारे पनि जानकारी गराइएको थियो ।
संस्थाका प्रबन्धक टेकप्रसाद आचार्यका अनुसार सहकारीमार्फत् सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीमा जीवन बिमा गर्ने व्यवस्था मिलाइएको छ । एक पटकमा सेयर सदस्यले साढे आठ हजार रुपैयाँ जम्मा गरेपछि त्यसैको ब्याजबाट प्रत्येक वर्ष बिमाको नवीकरण गरिने भएकाले सदस्यलाई थप आर्थिक बोझ पर्दैन । यदि पैसा तिर्न नसके संस्थाले सहुलियत कर्जा दिएरसमेत बिमा गर्दैआएको छ । र, हालसम्म दुई सयभन्दा धेरै सेयर सदस्यले संस्थामार्फत् बिमा गरिसकेका छन् ।
आचार्यले जीवन बिमाको सुविधाअन्तर्गत सदस्यको मृत्यु वा पूर्ण अशक्तता भएमा तीन लाख रुपैयाँ, आंशिक अशक्तता भएमा एक लाख ५० हजार रुपैयाँ सहकारीमार्फत् बिमा कम्पनीले उपलब्ध गराउने व्यवस्था रहेको जानकारी दिए ।
यसका अतिरिक्त संस्थाले पछिल्लो समय पशु बिमा पनि सञ्चालन गर्दैआएको छ । हालसम्म पाँच सयभन्दा बढी गाईको बिमा गरिएको छ भने चौपाया मरेमा पशुको मूल्यको ५० देखि ६० प्रतिशतसम्म रकम क्षतिपूर्ति दिने गरिएको छ । हालसम्म सातभन्दा बढी चौपायाको बिमा रकम भुक्तानी भइसकेको संस्थाले जनाएको छ ।
संस्थामा हाल पाँच सय ६० भन्दा बढी सेयर सदस्य छन् । सहकारीले सदस्यलाई लक्षित गर्दै कृषि, पशुपालन, ऋण, बचतलगायतका विभिन्न कार्यक्रम सञ्चालन गर्दैआएको छ ।





