पाँचथर फालेलुङ गाउँपालिका–५, प्राङबुङमा विष्फोट हुँदा तीन बालक घाइते भएका छन् ।
आज (बिहीबार) फालेलुङ ५, डाँडागाउँमा विष्फोट भएको तर के विष्फोट भएको भन्ने नखुलेको प्रहरीले जनाएको छ । त्यस वडाका वडाध्यक्ष भरतबहादुर खपाङ्गीले तीनमध्ये दुई बालक गम्भीर रहेको जानकारी दिए ।
प्रहरीका अनुसार स्थानीय दिलीप साँवाका ११ वर्षे छोरा दिप्सन, अढाई वर्षकी छोरी प्रिन्सा र त्यहींका नौ वर्षे पवन राई घाइते छन् । दिप्सन र प्रिन्साको अवस्था गम्भीर रहेकाले उनीहरूलाई उपचारका लागि झापा रेफर गरिएको छ ।
जिल्ला प्रहरी प्रमुख हेमन्त भण्डारीले के विष्फोट भएको भन्ने नखुलेको बताए । सामान्य घाइते रहेका पवनले सँगै खेलिरहेका बेला डल्लो आकारमा देखिएको वस्तु पड्किएको बताएका छन् । तर, त्यो डल्लो आकारको वस्तु के थियो भन्ने खुलेको छैन ।
घटनास्थलतर्फ प्रहरी टोली गएको छ । थप विवरण आउन बाँकी छ ।