मुस्लिम धर्मावलम्बीहरुको दोस्रो ठूलो चाड बकर इद (इदुल जोहा) आज देशभर मनाइँदै छ ।
आज बिहानै मुस्लिम धर्मावलम्बीहरुले शुद्ध भई नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढी एक आपसमा मित्रवत् रूपमा शुभकामना साटासाट गरेका छन् ।
काठमाडौंको जामे मस्जिद लगायतका विभिन्न मस्जिदहरूमा मुस्लिम धर्मावलम्बीहरुको भीड छ । उनीहरूले एक आपसमा शुभकामना साटासाट गरी बकर इद मनाइरहेका छन् ।
यस्तै पश्चिम नेपालको बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ, कपिलवस्तु सहितका जिल्लामा पनि मुस्लिम धर्मावलम्बीहरूले आज बकर इद मनाउँदै छन् ।
इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले सोमबार बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढेर एकापसमा शुभकामना आदानप्रदान पनि गरे । यस अवसरमा नेपालगन्जको बिपी चोक नजिकै इदगाहमा ठूलो संख्यामा मुस्लिम धर्मावलम्बीको भेला भएका थिए ।
हिजरी संवत् अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो । बकर इदको अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।
add a comment