समाचार

सुम्बेकको महाकालेश्वर महायज्ञमा २५ लाख आम्दानी, १२ लाख खर्च

इलाम नगरपालिका २, सुम्बेकस्थित महाकालेश्वर शिव मन्दिर तथा परोपकार संस्थाले सम्पन्न गरेको श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञको हिसाबकिताब सार्वजनिक गरिएको छ ।

मन्दिर परिसरमा कार्यक्रम आयोजना गरी गत माघ २७ गतेदेखि फागुन ५ सम्म सञ्चालित पुराणको हिसाब सार्वजनिक गरिएको हो  । आयोजकका अनुसार पुराणमा २५ लाख ३६ हजार आठ सय ३० रुपैयाँको आय र १२ लाख ३५ हजार तीन सय चार रुपैयाँ व्यय भएको छ ।

संस्था अध्यक्ष कोषराज लम्सालको अध्यक्षता तथा वडा सदस्य मीना दाहाल गड्तौलाको प्रमुख आतिथ्य भएको कार्यक्रममा लेखा समिति संयोजक लेखनाथ पोख्रेलले हिसाब–किताब सार्वजनिक गरेको हो  । बचत रकमबाट अक्षयकोष स्थापना गर्ने, मन्दिरलाई थप जग्गा खरिद गर्ने र मन्दिर परिसरमा भजनालय निर्माण गर्ने आयोजकले जनाएको छ ।

दाताले पनि यही उद्देश्य रकम सहयोग गरेको संस्था उपाध्यक्ष उर्मिला निरौलाले बताइन् ।

कार्यक्रममा वडा सदस्य राजेन देवान, महायज्ञ बजार व्यवस्थापन उपसमिति संयोजक इन्द्र  निरौला, प्रचारप्रसार संयोजक दामोदर पोख्रेल, उपाध्यक्ष रूद्रबहादुर सुनामलगायत विभिन्न धार्मिक एवम् सामाजिक संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिलगायतको उपस्थिति थियो ।

कार्यक्रमका अतिथिले भर्खरैको महायज्ञ ऐतिहासिक रूपमा सम्पन्न भएको र दाताले स्वतस्फूर्त रूपमा खुलेरै सहयोग गरेको बताए । प्राप्त सहयोग सदुपयोग गर्न सक्नु मन्दिर तथा परोपकार संस्थाको ठूलो जिम्मेवारी रहेको उनीहरूले जनाए ।

संस्था सचिव सूर्यकुमार निरौलाले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य संस्था उपाध्यक्ष रुद्रबहादुर सुनाम र कार्यक्रमको औचित्यमा अर्की उपाध्यक्ष उर्मिला निरौलाले धारणा राख्नुभएको हो ।  (पालिकापेज)

Leave a Response