खेलकुद

इलामको टुँडिखेलमा प्रथम महिला इलाम गोल्डकप हुँदै

आउँदो फागुन २ देख ७ गतेसम्म इलाममा प्रथम महिला गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । ओसिस क्लब इलामको आयोजनामा ठुलो टुँडिखेलमा हुने प्रतियोगितामा कम्तिमा ८ टिमको सहभागिता रहने छ । झापा, पाँचथर, आयोजक ‌ओसिस क्बल, विभागीय टोली एपिएफ, नेपाल आर्मीको प्रादेशिक टिम, दार्जिलिङको मानेभञ्ज्याङ क्लब सँगै अन्य क्लबसँग पनि सहभागिता सुनिश्चितताको विषयमा निरन्तर सम्पर्क भइरहेको क्लब सचिव रोशन राईले बताए ।

अखिल नेपाल फुटबल संघ (एन्फा) र जिल्ला फुटबल संघ इलामको प्राविधिक सहयोग हुने गोल्डकपको विजेताले २ लाख र उपविजेताले १ लाख नगदसँगै ट्रफी मेडल पाउनेछन् । व्यक्तिगत विधा तर्फ सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, उदियमान खेलाडी र सर्वोत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिनेछ ।

टुडिखेलमा निःशुल्क रुपमा हेर्न सकिने प्रतियोगिताले इलामको महिला फुटबल विकासमा योगदान दिने प्रदेश फुटबल संघका सहमहासचिव पुर्ण फत्रले जानकारी दिए । क्लबका अध्यक्ष च्याङ्ग मुखियाले इलाममा एकपछि अर्को खेलकुदका कार्यक्रमलाई व्यवस्थापन गर्न अन्य सहकर्मी क्लबसँग निरन्तर समन्वय र सहकार्य गरिरहेको जानकारी गराए ।

उनले खेलकुद कार्यक्रम सञ्चालन गर्नु पुर्व जिल्ला फुटबल संघलाई जानकारी दिएपछि अनुमति लिएर खेल आयोजना गर्न लागेकोले आफुहरु यसको पूर्ण तयारीमा लागेको बताए । इलाम सदरमुकाममा एक दशक देखि राष्ट्रिय खेलाडीहरुको फुटबल हुन सकिरहेको छैन् । २०७० सालमा विभागीय टोली र तत्कालि विकास क्षेत्रका टोलीहरु समेटिएको लुम्बिनी कप फुटबल भएको थियो । त्यस यता टुडिखेलमा महिलाको फुटबल प्रतियोगिता भएको छैन् ।(लोकल सन्देश)

Leave a Response