माईजोगमाई
माइजोगमाई–५, सोयाङका समाजसेवी महेश सापकोटाले आफ्नो जन्मोत्सव अवसरमा स्थानीय विद्यालयका विद्यार्थीलाई किताब बोक्ने झोला वितरण गरेका छन् ।
उनले आफूले बाल्यकालमा अध्ययन गरेको शिरिसे माध्यमिक विद्यालयको नर्सरीदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई ३८ जनालाई झोला प्रदान गरेका हुन् ।
झोला पाएपछि बालबालिका हर्षित भएका छन् । लामो बाटो हिँडेर विद्यालय आउने विद्यार्थीलाई किताब बोक्ने झोला निकै उपयोगी भएको विद्यालयले जनाएको छ ।
आफू बाल्यकालमा स्कुल जाँदा बोराको झोला बोक्नुपर्ने बाध्यता सम्झेर सामुदायिक विद्यालयका विद्यार्थीलाई किताब बोक्ने झोला वितरण गरेको सापकोटाले बताए ।
‘मैले जन्मदिन मनाउन तडकभडक गरेको भए हजारौं रुपैयाँ खर्च हुन्थ्यो होला,’ सापकोटाले भने, ‘आफ्नो बाल्यकालको बाध्यता सम्झेर त्यही स्कुलमा पढ्ने बालबालिकालाई मेरो सानो सहयोग निकै उपयोगी हुने सम्झेर गरेको हुँ ।’