जिल्ला अदालतले बलात्कारको जाहेरी दिने युवतीलाई नै जेल पठाउने आदेश दिएको छ । अछामको कमलबजारकी १९ वर्षीया किशोरीले आफूलाई बिहेको प्रलोभनमा पारी बलात्कार गरेको भन्दै गत माघ १७ मा जिल्ला प्रहरी कार्यालयमा रामारोशन गाउँपालिकाका २० वर्षीय पुरुषविरुद्ध जाहेरी दिएकी थिइन् ।माघ १५ मा बिहेको प्रस्ताव लिएर आएका ती पुरुष सम्बन्ध राखेपछि आफन्तको मृत्युका कारण तत्काल विवाह गर्न नसक्ने भन्दै पन्छिएका थिए । युवतीको जाहेरीपछि प्रहरीले अनुसन्धान गरेर पुरुषविरुद्ध मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा पेश गरेको थियो । त्यसैका आधारमा सरकारी वकिलको कार्यालयले ती पुरुषविरुद्ध बलात्कार मुद्दा दायर गरेको थियो । प्रलोभनमा पारी सहमति लिएर सम्बन्ध राख्ने कार्यलाई सहमतिको सम्बन्ध नभएर बलात्कार मान्ने प्रचलित कानुनी व्यवस्था बमोजिम ती पुरुषविरुद्ध अदालतमा मुद्दा दर्ता भएको थियो ।
ती पुरुषले भने युवतीसँग सहमतिमै सम्बन्ध राखेको बताएका थिए । मुद्दाको सुनुवाइको क्रममा किशोरीले अदालतमा बयान फेरेकी थिइन् । आफूमाथि बलात्कार नभएको भन्दै उनले बयान फेरेका आधारमा जिल्ला न्यायाधीश नवीनकुमार जोशीको एकल इजलासले तीन वर्ष जेल सजायको फैसला सुनाएको हो ।
किशोरीकै घरमा बास बसेर शारीरिक सम्बन्धपछि ती पुरुष बिहे पक्का नगरी आफन्तसहित फर्केका थिए । अदालतले दुवैको बयान र शारीरिक परीक्षण प्रतिवेदन हेरेपछि ती किशोरी र पुरुषबीच सहमतिमै सम्बन्ध भएको ठहर गरेको छ । यद्यपी ती किशोरीलाई बयान फेर्न बाध्य पारिएको थियो वा थिएन भन्ने स्पष्ट हुन सकेको छैन । पीडित भनिएकी किशोरीले जाहेरी नै झूटो दिएकी थिइन् वा पछि दबाबले बयान परिवर्तन गरेकी हुन् भन्ने फैसलामा स्पष्ट खुलाइएको छैन । किशोरीले अदालतमा बयान परिवर्तन गरेका कारणले मात्रै उनले दिएको जाहेरी झुटो भएको अदालतले अनुमान गरेको देखिन्छ ।किशोरीलाई तीन वर्ष जेल सजाय तोक्दा ती २० वर्षीय पुरुषलाई अदालतले सफाइ दिएको छ । किशोरीलाई अदातलको आदेशपछि जिल्ला कारागार कार्यालय चलान गरिने भएको छ ।
किशोरीलाई जेल सजयाको फैसला गर्ने अदालतले किशोरीको जाहेरीपछि मुद्दामा अनुसन्धान गर्ने जिल्ला प्रहरी कार्यालय र त्यसैका आधारमा मुद्दा चलाउने निर्णय गर्ने सरकारी वकिललाई भने जवाफदेही बनाएको छैन ।कान्तिपुर अनलाईन बाट