माईजोगमाई सेरोफेरो

फ्रान्ससम्म पुग्छ इलाममा उत्पादित धूपी, पाती र मेन्थाको तेल

इलाममा उत्पादित जडीबुटीको तेल विदेश निर्यात भइरहेको छ। माईजोगमाई गाउँपालिका वडा नं ६ प्याङ स्थित नित्यराज दाहालको उद्योगमा उत्पादित तेल विदेश निर्यात हुन थालेको हो।

दहालले १३ वर्षअघि स्थापना गरेको यो उद्योगबाट भएको वर्षदेखि तेललगायत स्थानीय जडीबुटी विदेश निर्यात हुन थालेको बताए। उनले विशेषगरी फ्रान्समा यहाँबाट उत्पादित वस्तु जाने गरेको जानकारी दिए।

‘हाम्रो उद्योगमा गाउँमा नै पाइने पाती, धूपी, मेन्था, धसिङ्गरेलगायत स्थानीय जडिबुटीबाट तेल निकालिन्छ। त्यसमध्ये हाल पाती, मेन्था र धूपीबाट प्रशोधित तेल विदेश निर्यात हुन थालेको हो’ दाहालले भने, ‘निकट दिनमा जेरेनियम, जङ्गली सयपत्री, रोजमेरीलगायतबाट पनि तेल उत्पादन गर्ने तयारी भइरहेको छ। विदेशीले नेपाली प्राकृतिक वस्तु मन पराउने गरेका छन्। त्यसैले मागअनुसार उत्पादन गरिरहेका छौँ।’

उनले यहाँ ध्यान गर्न आएका विदेशीले नै उत्पादित वस्तु खरिद गरेर लैजाने गरेको सुनाए। ‘शुरुशुरुमा विदेशीले पनि सामान्य रूपमा लिने गरेका थिए। पछि तेलको महत्त्वबारे जानकारी गराएपछि उहाँहरूले मन पराउनुभयो। उत्पादन गरेका सबै वस्तु बिक्री हुन थालेपछि हौसला बढेको छ’, दाहालले भने। रुघाखोखी, घाँटी दुखेको बेला प्रयोग गर्ने, चोट लागेको ठाउँमा मालिस गर्न र हाडजोर्नीको समस्या भएका, ढाड दुखेका बिरामीले यसको बढी प्रयोग गर्ने गरेको उनको भनाइ छ।

धूपीको तेल प्रतिकिलोग्राम दुई हजार ५००, तितेपातीको तेल प्रतिकिलो छ हजार, मेन्थाको तेल प्रतिकिलो सात हजार र धसिंगरेको तेल प्रतिकिलो सात हजारमा बिक्री हुने गरेको छ। दाहालले ३५ रोपनी जमिनमा यस्ता विभिन्न वनस्पतिको खेती गर्दै आएका छन्। उनले स्थानीय किसानबाट समेत कच्चा पदार्थ खरिद गरी गरिरहेका छन्। ‘गाउँका किसानले उत्पादन गरेको वस्तु घरमा नै गएर खरिद गरिरहेका छौँ। धूपी प्रतिकिलो आठ रुपैयाँ र तितेपाती प्रतिकिलो चार रुपैयाँले घरमै गएर खरिद गर्दा किसान पनि लाभान्वित भएका छन्’ दाहालले भने। (रासस)

Leave a Response