समाचार

इलाममा पर्यटन पत्रकारिता तालिम सुरु, चार जिल्लाका ३० पत्रकार सहभागी

माईजोगमाई खवर

पाल पत्रकार महासङ्घ इलाम शाखाको आयोजनामा तथा पर्यटन कार्यालय काँकरभिट्टाको आर्थिक सहयोगमा तीनदिने पर्यटन पत्रकारिता तालिम इलाममा सुरु भएको छ। इलाम नगरपालिका–५ स्थित नेपाल भिलेज होमस्टेमा आजदेखि तालिम सञ्चालन भएको हो।

तालिमको उद्घाटन इलाम नगरपालिकाका नगरप्रमुख केदार थापाले गर्नुभएको हो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख थापाले इलामको प्राकृतिक, सांस्कृतिक तथा धार्मिक पर्यटन प्रवर्द्धनमा पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले तथ्यपरक र सन्तुलित पर्यटन पत्रकारितामार्फत इलामलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिनाउन सकिने उल्लेख गर्नुभयो।

कार्यक्रमको अध्यक्षता नेपाल पत्रकार महासङ्घ इलाम शाखाका अध्यक्ष भीम चापागाईंले गर्नुभएको थियो। उहाँले पर्यटन क्षेत्रको विकासका लागि पत्रकारहरूको क्षमता अभिवृद्धि आवश्यक रहेको बताउनुभयो।

तालिममा झापा, इलाम, पाँचथर र ताप्लेजुङका ३० जना पत्रकारको सहभागिता रहेको छ। तालिममा पर्यटन पत्रकारिताको अवधारणा, समाचार तथा फीचर लेखन, गन्तव्य प्रवर्द्धन, फिल्ड रिपोर्टिङ, फोटो तथा डिजिटल पर्यटन पत्रकारितालगायत विषयमा प्रशिक्षण दिइँदैछ।

तालिममा पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छविलाल खतिवडा र केचना–कञ्चनजङ्गा पर्यटन विकास समितिका पूर्व अध्यक्ष केशवकुमार धौराली प्रशिक्षक रहनुभएको छ। तीन दिनसम्म सञ्चालन हुने तालिममा सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अभ्याससमेत गराइने आयोजकले जनाएको छ।(खवर खेती )

Leave a Response