
गीतकार डा. तारानाथ घिमिरे ‘धुर्कापानी’ द्वारा रचित गीत ‘दिनमा पनि रातमा पनि’ विशेष समारोहका बिच राजधानीमा शनिबार सार्वजनिक भएको छ । ‘डिआर सिर्जना संसार’ द्वारा आयोजित समारोहका प्रमुख अतिथि वरिष्ठ कवि डा. नवराज लम्सालले गीति सिर्जना सार्वजनिक गर्दै गीतमा चोटहरू सङ्ग्रहबद्ध भई अभिव्यक्त भएको धारणा राखेका छन् । उनले गीतमा सघन चेतना ध्वनित भएको बताएका छन् । विशेष अतिथिका रूपमा उपस्थित वरिष्ठ सङ्गीतकार राजु सिंहले शब्दमार्फत अभिव्यक्त हुन नसकेको सिर्जना सङ्गीतको बाटो भई आवाजमा तरङ्गित हुने धारणा राखेका छन् । उनले गीतकारको भावलाई सङ्गीतकारले सचेतनापूर्वक सिर्जनामा उतार्ने कौशल प्रस्तुत गरेको विश्लेषण गरेका छन् ।
गीति सिर्जनाको विश्लेषण गर्ने क्रममा समालोचक डा. गीता त्रिपाठीले ‘धुर्कापानी’ को गीतमा प्रतीकात्मक अर्थ खोज्ने प्रशस्तै ठाउँ रहेको दाबी गरेकी छन् । गीतमा प्रकटित रोदनले हरेक भावकको संवेदनालाई स्पर्श गर्ने अभिमत प्रस्तुत गर्दै त्रिपाठीले आँसुमा विरेचनको शक्ति हुने भएकाले गीतको मर्मलाई भावनाको गहिराइमा डुबुल्की मारी गीति माधुर्य आस्वादन गर्नुपर्ने विचार व्यक्त गरेकी छन् ।

समारोहमा ‘सुगम सङ्गीत : आस्था र अवस्था’ विषयक विद्वत् प्रवचन प्रस्तुत गर्दै विश्लेषक डा. विष्णु दाहालले समाज अनुसार गीतका स्रोता तयार हुने धारणा राखेका छन् । उनले गीत-सङ्गीतको धारलाई समय अनुसार हिँडाउन नसक्दा कमजोर सिर्जनाले सुगम सङ्गीतमाथि प्रभुत्व जमाएको धारणा राखेका छन् । हरेक युगमा सिर्जनाको भविष्य थाम्न सक्ने नयाँ पुस्ता जन्माउनु सुगम सङ्गीतको भविष्य निर्माणका लागि चुनौतीको विषय बनेको दाहालको विश्लेषण छ । उनले डा. तारनाथ घिमिरे ‘धुर्कापानी’ र विष्णु अधिकारीको सिर्जना सुगम सङ्गीतको विगतलाई भविष्यसँग जोड्ने साँघु बनेको टिप्पणी गरेका छन् ।
कार्यक्रममा सार्वजनिक गरिएको गीति सिर्जनाको सङ्गीत संयोजकसमेत रहेका वरिष्ठ गायक तथा सङ्गीतकार विष्णु अधिकारीले गीति सिर्जनासँग जोडिएको सङ्गीत रचना र गायनको अनुभूति पस्किँदै गीतकारको वियोगी भावमा आफू लछप्पै भिजेको बताएका छन् । भावको गहिराइबाट सङ्गीतको माधुर्य झिक्ने प्रयत्नमा यात्रा गरी सदाबहार धुनसँग सहयात्रा गर्ने प्रयत्नकै निरन्तरताका रूपमा यस गीति सिर्जनालाई अधिकारीले चिनाएका छन् । कार्यक्रमका संयोजक डा. हेम भण्डारीले ‘धुर्कापानी’ को गीत र अधिकारीको सङ्गीतले सदाबहार युगका सिर्जनाको प्यासलाई सम्बोधन गर्ने प्रयत्न गरेको अभिव्यक्ति दिएका छन् । गीति सिर्जनाका मर्मज्ञ तथा भौतिक विज्ञानका प्राध्यापक डा. राजुभाइ ट्याटले भौतिक विज्ञानको सैद्धान्तिक मान्यताका पृष्ठाधारमा यस गीतको ब्याख्या गर्दै गीतमा मानिस, समय, प्रकृति, निराशा, रोदन आदि बेजोड रूपमा संयोजन भएको बताएका छन् ।
गीतकार ‘धुर्कापानी’ ले प्राप्तिको सुखका तुलनामा अप्राप्तिको पीडा र छटपटीमा सिर्जित वियोगी भावमा डुबुल्की मारेपछि जन्मिने गीति सिर्जनाले दिने आनन्द अन्त कतै नपाइने धारणा राखेका छन् । उनले वियोगी भावका गीति सिर्जनाबाट मात्र आफू सन्तुष्ट हुने प्रस्टोक्ति दिएका छन् । त्रिभुवन विश्वविद्यालय पाटन संयुक्त क्याम्पसका राजनीतिशास्त्र विभागका विभागीय प्रमुखसमेत रहेका सहप्राध्यापक डा. तारानाथ घिमिरे ‘धुर्कापानी’ का यसअघि नै मेरो पनि एउटै मुटु, सबै पीडा भुलेँ मैले, कहिलेकाहीँ मेरो पनि, कहाँ लान्छ नियतिले लगायत पचासौँको सङ्ख्यामा गीतगजल सार्वजनिक भइसकेका छन् । गजलको संरचनात्मक धरातल अनुसरण गरी तयार पारिएको ‘दिनमा पनि रातमा पनि’ बोलको प्रस्तुत गीतमा प्रणयको वियोगी अनुभूति अभिव्यक्त भएको पाइन्छ ।





