माईजोगमाई सेरोफेरो

माईजोगमाई गाउँपालिकाको तेस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न

माईजोगमाई खवर संवाददाता

इलामको माईजोगमाई गाउँपालिकाको चालू आर्थिक वर्ष २०८०।०८१ को तेस्रो तथा अन्तिम चौमासिक सार्वजनिक सुनुवाई आइतबार सम्पन्न भएको छ । जनप्रतिनिधि तथा कर्मचारीहरूमा जवाफदेही संस्कार बसाउने एवम् दोहोरो संवादबाट जिम्मेवार अधिकारी र नागरिक बीचको दूरी कम गरी सेवा, वस्तु र सुविधा प्रदायक अधिकारी सहजकर्तामा रुपान्तरित भई सुशासनको प्रत्याभूति दिने उदेश्यले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो ।

गाउँ कार्यपालिकाको कार्यालय र विभिन्न विषयगत शाखाहरुबाट भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहको सम्बन्धमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा ४८ जनाको उपस्थिती रहेको थियो ।

कार्यक्रममा चार जना सेवाग्राहीले प्रत्यक्ष चासो, गुनासो, प्रश्न र सुझाव राखेका थिए । कार्यक्रममा सुशिला दियाली, जितबहादुर निरौला, मनिकुमार राई र लोकेन्द्र रम्तेलले विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाह सम्बन्धमा विभिन्न प्रश्न, जिज्ञासा र सुझाव राखेका थिए ।

प्रश्नकर्ताको प्रश्नको जवाफ माईजोगमाई गाउँपालिका अध्यक्ष कुशबहादुर थेवे, उपाध्यक्ष प्रविना राई, निमित्त कार्यालय प्रमुख गोकुलप्रसाद सञ्जेल, शिक्षा शाखा प्रमुख करुणा नेपाल, डा. अभिषेक देव ठकुरी विवेक श्रेष्ठले दिएका थिए । उनीहरुले आगामी दिनमा गुणस्तरीय सेवाप्रवाह गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा अध्यक्ष थेवे, उपाध्यक्ष राई र निमित्त कार्यालय प्रमुख सञ्जेलले सुझावकर्ताहरुलाई धन्यवाद ज्ञापन गर्दै सेवाग्राहीको सुझावलाई आगामी दिनमा समेटेर अघि बढ्ने प्रतिवद्धता जनाए । उनीहरुले गाउँबासीहरुको सुझावका आधारमा अघि बढ्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा गाउँपालिकाको तर्फबाट निमित्त कार्यालय प्रमुख सञ्जेलले सार्वजनिक सुनुवाईको उद्देश्यसहित स्वागत गरेका थिए ।

त्यस्तै बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिका तर्फबाट सहजकर्ता राम योङहाङले नागरिकसँग सार्वजनिक सेवा प्रदायक संस्थाबाट सेवा लिँदा प्रत्यक्ष अनुभव गरेका, भोगेका र देखेका कुराहरुलाई उल्लेख गरी लिएको नागरिक अभिमत प्रतिवेदन र नागरिक बडापत्रद्वारा गरिएका बाचा बमोजिम सेवाग्राहीले सेवा सुविधाको प्राप्तिपछि कार्यालयबाट बाहिर निस्किने समयमा त्यहाँको सेवा सुविधाको विषयमा लिएको बहिर्गमन अभिमत नतिजा प्रस्तुत गरेका थिए ।

नागरिक अभिमतबाट प्राप्त प्रतिक्रियामा आगामी दिनका लागि सुझावहरु र बहिर्गमन अभिमतबाट प्राप्त प्रतिक्रियामा राम्रो पक्षसँगै र सुधार गर्नुपर्ने विषयहरु औंल्याइएको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रमले शासन सञ्चालनमा पारदर्शिता, नेतृत्वमा जवाफदेहिता र सार्वजनिक चासोका बिषयमा आम नागरिकहरूको सूचनामा पहुँचलाई मजबुत बनाउनुका साथै सार्वजनिक सेवा, वस्तु र निर्णय प्रक्रियामा आम नागरिकको सहभागितालाई प्रवर्द्धन गर्नेछ ।

कार्यक्रम माईजोगमाई गाउँपालिकाको आयोजना र बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिको संयोजन र सहजीकरणमा भएको हो ।

Leave a Response