इलामको माइजोगमाई २ स्थित कागे महदेव सामुदायिक वनको हिउँदे खोल्सीमा बहुमूल्य र लोपोन्मुख चाँपका सात गोलिया (टुना) अवैध रूपमा काटिएको अवस्थामा फेला पारिएको छ ।
विशेष सूचनाका आधारमा वन कार्यालयका कर्मचारी, माइजोगमाई २ का वडाध्यक्ष डम्बरबहादुर सुवेदी तथा वन समिति र स्थानीयको संयुक्त टोलीले गस्ती गर्दैजाँदा चाँपका रुख ढालेर टुना बनाएको बेवरिसे अवस्थामा ती गोलिया फेला पारेको हो ।
जिल्ला वन कार्यालयमार्फत् उपभोक्ता समितिको मातहतमा लामो समयदेखि वन उपभोग गर्दैआएका उपभोक्तलाई आवश्यक काठपात दिने गरेर कार्ययोजना थियो । अहिले निवेदन दिएका व्यक्तिलाई समितिले काठ दिने र काठ काट्दैगर्दा त्यही मौका छोपेर कटान आदेश नभएका रुख ढाली चोरी गरेको पाइएको वडाध्यक्ष सुवेदीले जानकारी दिए ।
वडाले चोरी–निकासीमा संलग्न व्यक्तिको खोजी गरिरहेकोसमेत वडाध्यक्ष सुवेदीले जानकारी दिए ।
माइजोगमाई स्थित वन कार्यालयका कर्मचारीले बरामद काठ कानुनी प्रक्रियामा गइसकेको बताएका छन् ।
डिभिजन वन कार्यालय प्रमुख दानबहादुर श्रेष्ठले अनुमति दिइएको भन्दा बढी एउटा रुख काटेको अवस्था फेला परेको जानकारी दिए । उनका अनुसार वनमा सात टुना फेला परेको भएपनि कसले काटेको हो भन्ने पुष्टि हुन सकेको छैन । ‘अब केही दिनमै त्यो रुख काट्ने मान्छे पत्तो लाग्ने सम्भावना छ,’ उनले भने ।