गोलरक्षक प्रिसो जाङ्गा नायक बन्दा न्युरोड टिम (एनआरटी) काठमाण्डौ खेलमण्डल इलाममा जारी प्रथम इलाम गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । उनले टाइब्रेकर प्रहारमा घरेलु टोली रेड हर्सको कप्तान नवयुग श्रेष्ठ र छिरिङ गुरुङको प्रहारलाई रोक्न सफल भए ।
निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि निर्णयका लागि टाइब्रेकर रोजिएको थियो । टाइब्रेकरमा खेल ४–३ अन्तरले एनआरटीले जित निकालेको हो । निर्धारित ९० मिनेटको खेलमा सुरुवाती अग्रता रेड हर्सले लिएको थियो । खेलको ४२ औ मिनेटमा कप्तान श्रेष्ठले अग्रता दिलाए ।
बिनोद धमलाको पासलाई सदुपयोग गर्दै श्रेष्ठले जाली चुमाएका थिए । पहिलो हाफमा १–० ले पछि परेको एनआरटीले ८४ औ मिनेटमा खेल बराबरी गर्न सफल रहयो । डिबक्स राजिव लोप्चनबाट आएको क्रस पासलाई ग्लोरीले हेडर मार्फत गोल गर्दै खेल बराबरीमा ल्याए ।
टाइब्रेकरमा प्रहारमा एनआरटीका सुमित श्रेष्ठ, गोलरक्षक प्रिसो, राजिव लोप्चन र जय गुरुङले गोल गरे । सनम लिम्बुको प्रहार बारमा लागेर बाहिरिएको थियो । ग्लोरीको प्रहार इलामका गोलरक्षक विवेक मगरले बचाएका थिए । इलामको तर्फबाट बिशाल ग्लान तामाङ, पिकेश लोक्ताम र शरण विक्रम सिंह बस्नेतले गोल गरे ।
श्रेष्ठ र गुरुङको प्रहार गोलरक्षक प्रिसोले बचाए । एकराज बुढाथोकीको प्रहार बाहिरिएको थियो । जितसंगै एनआरटीले कम्तीमा ३ लाख रुपैया सुरक्षित गरेको छ । खेलको म्यान अफ दि म्याच गोलरक्षक प्रिसो घोषित हुँदै नगद ५ हजार प्राप्त गरे ।
उनलाई अधिवक्ता एवम स्र्पोटिङ इलाम डी मेचीका अध्यक्ष सुहाङ नेम्वाङले नगद र ट्रफी प्रदान गरे । अन्तिम सेमीफाइनल खेलमा पाँचथर फुटबल क्लबले विर्तामोड युनाइटेड झापाको सामना गर्नेछ । पाँचथरले नेपाल सुपर लिग क्लब बुटबल लुम्बिनी र विर्तामोडले राष्ट्रिय जागृति इटहरीलाई हराउँदै अन्तिम ४ मा स्थान सुरक्षित गरेको हुन् ।