इलाममा एकसाथ चिया र अलैँचीको अनुसन्धानका लागि चिया तथा अलैँची अनुसन्धान केन्द्र स्थापना हुने भएको छ । चिया र अलैँचीको उर्वरभूमि इलाममा यसको अनुसन्धान केन्द्र स्थापना हुने भएको हो । यसले चिया र अलैँचीको उत्पादन र गुणस्तर वृद्धिमा सहयोग पुग्ने छ ।
इलाम नगरपालिका–१ साँखेजुङका निःशुल्क जग्गादान गरिएपछि राष्ट्रिय व्यावसायिक कृषि अनुसन्धान कार्यक्रमअन्तर्गत अनुसन्धान केन्द्र स्थापना हुने भएको हो । जसका लागि जग्गा व्यवस्थापनको काम इलाम नगरपालिकाले गरिरहेको छ ।
इलाममा चिया उत्पादन हुन थालेको करिब एक सय ६० वर्षपछि चिया अनुसन्धानका लागि केन्द्र स्थापना हुने भएको हो । यसले जिल्लाका किसानमा खुसी छाएको छ । जग्गा प्राप्तिसँगै कार्यालय स्थापनाको काम सुरु भएको छ । जसमा पहिलो चरणमा भवन निर्माणका लागि १३ रोपनी क्षेत्रफललाई सम्याइएको छ । सो स्थानमा भवन निर्माणका लागि ठेक्का समेत लागिसकेको इलाम नगरपालिकाका प्रमुख केदार थापाले बताए । चिया प्रशोधनतर्फ २० लाखबराबरको रकमबाट काम भइरहेको छ ।
इलाममा धेरै किसान चियामा आत्मनिर्भर छन् । उत्तिकै सङ्ख्यामा अलैँची किसानसमेत छन् । विदेशी मुद्रा आजर्न गर्ने नगदेबालीमा पर्ने अलैँची र चियाको विकासका लागि एकैसाथ काम भइरहेको इलाम नगरपालिकाका प्रमुख थापाको भनाइ छ । नगरपालिकाले कृषिलाई प्राथमिकतामा दिएअनुसार नै केन्द्र स्थापना गर्न लागिएको हो ।
महँगो मूल्यमा अलैँची बिक्री भए पनि अलैँची मासिने क्रम नरोकिएकाले यसको खेती गर्ने किसानको सङ्ख्यामा कमी हुँदै गएको छ । अलैँचीको अनुसन्धानसमेत यहीँ गरिने भएपछि अब यससँग सम्बन्धित किसानको सङ्ख्या बढ्ने अपेक्षा छ । विसं १९२० मा चिया रोप्न सुरु गरिएको इलाममा सरकारले अनुसन्धान केन्द्र स्थापना गर्न लागेको हो । केन्द्र स्थापना हुने भएपछि यहाँका किसानमा उत्साह थपिएको छ ।
अलैँची र चियामा लागि उत्पादनका हिसाबले इलाम महत्त्वपूर्ण र उर्वरभूमि मानिन्छ ।
इलाममा अनुसन्धान केन्द्र स्थापना पनि नेपाली चिया र अलैँचीको अनुसन्धान गर्न चाहनेका लागि सहज हुनेछ । स्वदेश र विदेशमा रहेका चिया अध्ययन, अवलोकन र अनुसन्धान गर्नेसमेत आउने हुँदा जिल्लामा पर्यटकको सङ्ख्यामा वृद्धि हुने अपेक्षा छ ।(नयाँबुलन्द)