ललितपुरको ग्वार्को र बालकुमारी क्षेत्रमा भएको आन्दोलनका क्रममा भएको प्रहरीसँगको झडपमा २ जनाको मृत्यु भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षार्थीको आन्दोलनका क्रममा प्रहरीसँगको झडपमा दैलेखका सुजन रावत र डोटीका वीरेन्द्र शाहको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले बताउनुभएको छ ।
झडपमा घाइते भएपछि उपचारका लागि लगिएकोमा रावतको किस्ट अस्पतालमा र शाहको पाटन अस्पतालमा मृत्यु भएको हो ।
सुरुमा रावतलाई गोली लागेको भनिए पनि उहाँको छातीमा रातो डाम मात्र भेटिएको र गोली नलागेको प्रहरीले जनाएको छ । शाहलाई भने गोली लागेको हो ।
विरोध प्रदर्शनमा उत्रिएका युवाले सडक अवरुद्ध पार्दै भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका थिए। त्यसपछि अवस्था झनै तनावपूर्ण भएपछि प्रहरीले अश्रुग्याँस प्रहार गरिएको जनाएको छ ।
add a comment