झारफुक र भूत भगाउने निहुँमा एक महिलामाथि बलात्कार गरेको आरोपमा एक धामी (झाँक्री) पक्राउ परेका छन् ।
दशैँमा अष्टमी तिथिको दिन धनुषाको औरही नगरपालिका वडा नं. १ पौडेश्वर बस्ने एक इन्जिनीयरकी श्रीमतिलाई झारफुकको नाममा बलात्कार गरेको आरोपमा धनुषाको सबैला नगरपालिका वडा नं. ११ अमरखन्ना बस्ने धामी विष्णु भन्ने विष्णुदेव ठाकुर पक्राउ परेका छन् ।
श्रीमतिलाई भूत प्रेतको साया भएको भन्दै ईन्जिनीयरले आफ्नो श्रीमतिलाई झारफुक र तन्त्र विद्या मार्फत ठिक गराउन धामी ठाकुर कहाँ लगेका थिए । ठाकुरले बताए अनुसार, विधि विधान गरी कालरात्रीको दिन उनलाई उनकै गाउँको श्मसान घाटमा लगेर बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् ।
झाँक्रीलाई शुक्रबार ईलाका प्रहरी कार्यालय सबैलामा उजुरीको अनुसार पक्राउ गरिएको हो । इन्जिनीयर दम्पतिले धामी ठाकुरमाथि बलात्कारको आरोप लगाउँदै उजुरी गरेपछि अनुसन्धानको लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
सो सन्दर्भमा जिल्ला प्रहरी कार्यालय धनुषाले धामीलाई पक्राउ गरी महिलालाई मेडिकल चेकअपको राखिएको बताएको छ । जानकारी अनुसार, महिलामाथि अष्टमी तिथिकै दिन बलात्कार गरेको भनेर उजुरी परेको हो ।
घटनाको एक सातापछि मात्र इन्जिनीयर दम्पतिले धामीमाथि उजुरी हालेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाले धामीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । महिलालाई आजै मेडिकल चेकअप गराउने तयारी गरिएको हो ।
यस्तो छ घटनाः
इन्जिनीयरले श्रीमतिलाई भूतप्रेत लागेको भन्दै छुटाउनको लागि धामी विष्णुदेव ठाकुरसँग सम्पर्क गरे । सम्पर्कपछि उनले बताएको विधि विधान अनुसार कालरात्री अर्थात अष्टमी तिथिको दिन (कार्तिक ५ गते) राती पौडेश्वर गाउँभन्दा बाहिर रहेको श्मसान घाटमा लगियो ।
महिलाको श्रीमान इन्जिनीयर पनि सँगै गएका थिए । तीनै जना सँगै श्मसान घाट जाँदा धामीले इन्जिनीयरलाई बाहिरै बस्न भनेर महिलालाई भित्र लगेका थिए । केही बेरपछि इन्जिनीयरलाई बोलाउँदा महिला बेहोस र नग्न अवस्थामा देखिएको बयान रेकर्ड गरिएको छ ।
इन्जिनीयर र धामी दुवै जनाले महिलालाई उठाएर घर ल्याएको प्रहरीको बयानमा भनिएको बताइएको छ ।
(Gandakichhadke)