किबोर्डमा क्रमशः नराखी किन छ्यासमिस पारिएका हुन्छन् ‘ए’देखि ‘जेड’सम्मका बटन ?
तपाईंले कम्प्युटर चलाउन थाल्दा सुरु सुरुमा किबोर्डमा अक्षर खोज्नै मुस्किल हुने गरेको थियो होला । यसरी अक्षर खोज्दाखोज्दै एक लाइन लेख्न पनि निकै समय लागेको हुनुपर्छ ।
त्यतिखेर तपाईंले पक्कै पनि सोच्नु भएको थियो होला, किबोर्डमा अक्षरहरू एकपछि अर्को नराखेर किन छ्यासमिस पारिएको होला । यदि अल्फाबेटलाई यताउति गर्नुको साटो ‘ए, बी, सी, डी…’ मा लेखिदिएको भए टाइपिङ गर्न कति सहज हुन्थ्यो !
तर तपाईंले क्रमशः किबोर्डमा फटाफट टाइपिङ गर्न थाल्नु भयो होला । यस्तोमा किबोर्डका अक्षर अगाडिपछाडि तलमाथि गर्नुले टाइपिङमा समस्या पार्दैन भन्ने ठान्नु भएको हुनसक्छ ।
यद्यपि किबोर्डको इतिहास टाइपराइटरसँग जोडिएको छ । कम्प्युटर किबोर्ड आउनुभन्दा अगाडि देखि नै ‘क्वेर्टी’ (क्यू, डब्लू, ई, आर, टी, वाई… हुँदै सुरु भएको) किबोर्ड प्रचलनमा छ ।
सन् १८६८ मा क्रिस्टोफर लाथम शोल्सले टाइपराइटरको आविष्कार गरेका थिए । उनले सुरुमा ‘ए, बी, सी, डी…’ कै क्रममा किबोर्ड बनाएका थिए । तर उनले जति स्पिड र सुविधाजनक टाइपिङको अपेक्षा गरेका थिए, त्यो पुरा हुन सकेन ।
यसका साथै किबोर्डमा रहने ‘किज्’का कारण कयौँ अन्य झन्झट समेत भोग्नु परिरहेको थियो । ‘ए, बी, सी, डी…’ लाई क्रमशः राखिएको किबोर्डका कारण टाइपराइटरमा लेख्न मुस्किल भइरहेको थियो ।
जसको मुख्य कारण त्यसका बटन एकदमै नजिक थिए र टाइपिङ गर्न असहज हुने गरेको थियो । यस बाहेक अङ्ग्रेजीमा केही यस्ता अक्षर समेत छन्, जसको प्रयोग धेरै हुने गर्दछ । उदाहरणको लागि (ई, आई, एस, एम) ।
त्यस्तै केही यस्ता अक्षरहरू पनि छन्, जुन एकदमै कम मात्रै प्रयोगमा आउँछन् । उदाहरणको लागि, ‘जेड’, ‘एक्स’ आदि । यस्तोमा धेरै प्रयोगमा आउने अक्षरका लागि पूरा किबोर्डमा औँला घुमाउनुपर्ने हुन्थ्यो ।
जसले गर्दा टाइपिङ एकदमै स्लो अर्थात् ढिलो हुने गर्दथ्यो । त्यसैले कयौँ असफल परीक्षण पश्चात् सन् १८७० को दशकमा ‘क्वेर्टी’ ढाँचाको किबोर्ड प्रचलनमा आयो । जसमा धेरै प्रयोग हुने अक्षरहरूलाई औँलासँग नजिक हुनेगरि राखियो ।
ती थुप्रै परीक्षण प्रयोगका क्रममा एउटा अर्को ढाँचाको रुपमा ‘डीभोर्क मोडेल’ पनि विकास भएको थियो । उक्त मोडेल त्यसमा राखिएका ‘किज्’ अर्थात् बटनको कारणले नभइ त्यसका आविष्कारक अगस्ट डिभोर्कको नाममा राखिएका कारण प्रसिद्ध थियो ।
यद्यपि उक्त किबोर्ड लामो समयसम्म चर्चामा रहन सकेन । किन भने त्यसमा अल्फाबेटिकल अर्डर नभए पनि त्यति सहज पनि थिएन । मानिसहरूलाई ‘क्वेर्टी’ मोडेल नै सबैभन्दा धेरै मन पर्यो र व्यापक रुपमा प्रयोग हुन थाल्यो ।