इलामबाट संचालित अनलाइन पत्रिका नयाँ बुलन्द डटकमले १० हजार राशीको अनलाइन पत्रकारिता पुरस्कार स्थापना गरेको छ ।
बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिद्वारा संचालित नयाँ बुलन्दले आफ्नो सातौं वार्षिक उत्सवको अवसरमा नयाँ बुलन्द अनलाइन पत्रकारिता पुरस्कार स्थापना गरेको हो ।
शुक्रबार आयोजित वार्षिक उत्सव कार्यक्रममा बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिका अध्यक्ष एवम् नयाँ बुलन्दका सम्पादक योङहाङले नगद १० हजार पुरस्कार राशीको पुरस्कार घोषणा गरेका हुन् ।
आगामी सालदेखि नयाँ बुलन्दको वार्षिक उत्सवको अवसरमा बर्सेनि एकजना अनलाइन पत्रकारलाई पुरस्कृत गरिने सम्पादक योङहाङले बताए । जिल्लाका अनलाइन पत्रिकामा कार्यरत पत्रकारलाई प्रोत्साहन गर्ने उदेश्यले पुरस्कार स्थापन गरेको योङहाङले बताए ।
कार्यक्रममा नयाँ बुलन्दले प्रकाशन गरेको सन्देशमूलक वार्षिक भित्तेपात्रो (क्यालेण्डर) २०८० समेत सार्वजनिक गरेको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भिषण राई, प्रदेश अध्यक्ष लिलाबल्लव घिमिरे, इलाम अध्यक्ष विप्लव भट्टराईसहित उपस्थित जिल्लाका संचारकर्मीहरुले संयुक्त रुपमा सार्वजनिक गरे ।
कार्यक्रमका वक्ताहरुले नयाँ बुलन्दले विभिन्न चुनौतीको बाबजुत लोकप्रियता कायम गर्न सफल भएको भन्दै निरन्तरताको कामना गरे । नागरिकलाई सूचना प्रदान गर्न पहरेदार बन्दै समाजमा व्याप्त भ्रष्टाचार, कालोबजारी, अनियमितता जस्ता नराम्रा पक्षलाई निरुत्साहित गर्दै सत्य, तथ्य र निष्पक्ष सूचना आम नागरिकसामू पुर्याउन सुझाव दिएका थिए ।
साथै पछिल्लो नागरिकको सूचनाको पहिलो श्रोतको रुपमा अनलाइन सञ्चारमाध्यम बन्दै गएको उल्लेख गर्दै वक्ताहरुले सूचना र प्रविधिको विकास र विस्तासँगै क्षणभरमा कुनैपनि सूचना विश्वमा प्रवाह गर्न नयाँ बुलन्दको भूमिका महत्वपूर्ण रहेको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राई, प्रदेश अध्यक्ष घिमिरे, इलाम अध्यक्ष भट्टराईले मन्तव्य राखेका थिए ।
यसैबीच मंगलबारदेखि आयोजित मल्टिमिडिया पत्रकारिता तालिम समापन गरिएको छ । तालिममा जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत २३ जना क्रियाशील पत्रकारहरुको सहभागिता थियो ।
सम्पादक योङहाङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन उपसम्पादक युद्धबहादुर बोहोराले गरेका थिए । कार्यक्रममा जिल्लास्थित विभिन्न संचार संस्थामा कार्यरत संचारकर्मीहरुको उपस्थिति थियो ।
२०७४ वैशाखदेखि संचालित नयाँ बुलन्दले युट्युब च्यानल नयाँ बुलन्द अनलाईन टिभी समेत संचालनमा ल्याएको छ । नयाँ बुलन्द प्रेस काउन्सिल नेपाल र विज्ञापन बोर्डमा समेत सूचिकृत छ ।(Nayabulanda)