समाचार

इलाममा माइक्रो बस चालकको कुटपिटपछि मृत्यु भएको छ ।

नुवाकोटको तारकेश्वर गाउँपालिका–२, बगुवा घर भइ काठमाडौं–इलामको माइक्रो बसका चालक २१ वर्षे दीपक ढुंगानाको मृत्यु भएको प्रहरीले जनाएको छ । वैशाख २० गते साँझ इलाम बजारमै भएको कुटपिटपछि गम्भीर घाइते ढुंगानालाई उपचारका लागि इलाम अस्पताल ल्याइएको थियो। तर, उपचार सम्भव नभएपछि झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा लगिएका उनको शनिबार मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुुसार वैशाख २० गते यात्रुसहितको बा ५ ख ५९८२ नम्बरको माइक्रोबस काठमाडौंबाट इलाम आएपछि साँझ अन्य यात्रुलाई ओरालेर चालक ढुंगाना गाडीबाहिर निस्केका थिए । माइक्रोमा १७ वर्षीया बालिका पछाडिपट्टिको सिटमा थिइन् । उनी रातिको समय भएकाले आफ्ना अभिभावकलाई आफूलाई लिन बोलाएर गाडीमै बसेकी थिइन् ।

त्यसै मौकामा गाडीका सहचालक नुवाकोटको बेल्कोट–१३ का विनय वाग्लेले ती बालिकालाई हातपात प्रयास गरेको प्रहरी दाबी छ । ‘हातपात प्रयास गर्दागर्दै बालिकाका अभिभावक उनलाई लिन पुगेपछि वाग्ले भागेका रहेछन्,’ जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले भने, ‘सहचालक भागेका बेला चालक ढुंगाना त्यहीं आइपुगेकाले उनीमाथि चाहिँ आक्रमण र कुटपिट भएको देखिन्छ ।’

चालकमाथि कुटपिट भएपछि अन्य सवारी साधनमा काम गर्ने श्रमिकले थाहा पाएर उनलाई उपचारका लागि अस्पताल लगेका थिए। त्यसपछि उनलाई झापा रिफर गरिएकामा झापामै उनको निधन भएको प्रहरीले जनाएको छ । उनीमाथि कुटपिट गर्ने इलाम नगरपालिका–६ का प्रेमप्रसाद राईलाई प्रहरीले सन्दकपुर गाउँपालिकाको आलुबारीबाट पक्रेको छ भने सहचालक वाग्लेलाई इलाम बजारको तल्लो भेगबाट त्यसैदिन पक्रेको छ । यो घटनामा बालिकाका तर्फबाट जबरजस्तीकरणी उद्योग र मृतकको तर्फबाट कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता भएको जनाइएको छ ।

प्रहरी प्रमुख एसपी श्रेष्ठले मृत्यु भएका चालक ढुंगाना र सहचालक वाग्लेले योजनाबद्ध रूपमा ती बालिकालाई हातपात गर्ने प्रयास गरेको दाबी गरे । ‘चालकले मौका मिल्ने ठाउँमा गाडी रोकिदिने र आफू कतै जाने, त्यसपछि सहचालकले बालिकालाई हातपात गर्ने योजना बनेको प्रारम्भिक अनुसन्धानमा देखिन्छ,’ एसपी श्रेष्ठले भने, ‘थप अनुसन्धान भइरहेको छ ।’

तर, मृत्यु भएका चालक ढुंगानाको शव बिएन्डसी अस्पतालले निकाल्न नदिएकाले अहिलेसम्म अस्पतालमै रहेको एसपी श्रेष्ठले बताए । ‘बिएन्डसी अस्पतालमा उनको उपचारमा ५ लाख रुपैयाँ खर्च भएको बिल रहेछ,’ उनले भने, ‘अब त्यो बिल कसले तिरेर त्यहाँबाट शव निकाल्ने भन्ने समस्या परिरहेको छ ।’ अस्पतालले ५ लाख रुपैयाँमध्ये २ लाख रुपैयाँ छुट गरेर बाँकी ३ लाख रुपैयाँ तिर्न भनेपनि तिर्ने रकम नहुँदा उनको शव निकालेर पोस्टमार्टम गर्ने अवस्था नभएको एसपी श्रेष्ठले जानकारी दिए ।
यातायात व्यवसायीआवद्ध विभिन्न संघ–संगठनले विज्ञप्ति जारी गरी यातायातका साधनमा कार्यरत श्रमिकको सुरक्षा माग गरेका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, अखिल नेपाल यातायात मजदुर संघ, नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै घटनामा संलग्नलाई कारबाहीको माग गरेका छन् । यी संगठनले मृतक चालकको उपचारमा भएको खर्च, उनका परिवारको पालनपोषणलगायतको उचित व्यवस्थाको ग्यारेन्टी नभए आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका छन् ।

 

Leave a Response