झापा, मेचीनगर १५ ज्यामिरगढीमा शुक्रबार बिहान मोटरसाइकल दाइजो माग्ने दुलाहालाई गाउँलेले प्रहरीको जिम्मा लगाएका छन् । ज्यामिरगढीकी एक युवतीसँग विवाह गरेका उनले दुलही लैजाने क्रममा दाइजोबापत् मोटरसाइकल प्रस्ताव गरेपछि उनलाई प्रहरीको जिम्मा लगाइएको हो ।
दाइजो माग्ने युवा झापा गाउँपालिकाको टाघनडुब्बाका डेबिड गनगाई हुन् । वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका उनको केही महिनाअघि ती युवतीसँग फेसबुकबाट कुराकानी भएर प्रेम भएको थियो । महिनादिनअघि विदेशबाट फर्किएपछि उनी युवतीको हात माग्न आएका थिए । पारिवारिक सरसल्लाहमै विवाहको निधो भएको थियो । ‘माग्न आउँदा हामीले दाइजोमा मोटरसाइकल दिन सक्दैनौं भनेर प्रस्ट पारेका थियौं; दुलाहाको परिवार मन्जुर भएको थियो,’ युवतीकी हजुरआमा रञ्जना राजवंशीले भनिन्, ‘तर आज आएर मोटरसाइकल मागेपछि प्रहरीको जिम्मा लगाउनुपर्यो ।’
राजवंशीका अनुसार दाइजोबापत टीभी, फ्रिजदेखि सोफासेटसम्मका करिब ४ लाख रुपैयाँ बराबरको सामग्री दिइएको थियो । दुलाहाले त्यो सामग्री अपूग भएको भन्दै मोटरसाइकल मागे । ‘हामीले क्षमताअनुसार साइकलचाहिँ दिएका थियौं,’ उनले भनिन्, ‘साइकलले नहुने रे !’