अन्तराष्ट्रियराष्ट्रियसमाचार

थरी थरीका निर्वाचन अधिकृत : कोही मापसेमा डामिए,कोही विवादित निर्णयका कारण तानिए

स्थानीय तहको निर्वाचन सम्पन्न गर्न खटाइएका निर्वाचन अधिकृत र मतदान अधिकृत पनि थरिथरिका भेटिएका छन् । कोही मापसे सेवन गरेर साँझ नपर्दै मात्तिने, कोही जिम्मेवारी पूरा नगर्ने, अनि कोही सम्पर्क विहीन भइदिने त कसैले विवादित निर्णय ठोकिदिने भएपछि निर्वाचन आयोगलाई त्यस्ता कर्मचारी झ्याउलो भएका हुन् ।

यस्तो सिलसिला बढेपछि आयोगले त्यस्तालाई फिर्ता बोलाएर नयाँ अधिकृत खटाउने क्रम हिजोसम्म जारी रहेको छ ।

निर्वाचन हुन अब आठ दिन मात्र बाँकी छ । तर पनि आयोग कर्मचारी फेर्नमै लाग्नुपरेको बताइन्छ । मुगुको कर्माकोट गाउँपालिकामा खटाइएका जिल्ला अदालत मुगुका गोविन्द आचार्यलाई हटाएर उनको ठाउँमा महालेखा नियन्त्रक कार्यालयमा कार्यरत ताराप्रसाद पोखरेललाई पठाइएको छ ।

अस्ति मात्र आयोगले महोत्तरीको साम्सी गाउँपालिका, बाजुराको बुढीगंगा गाउँपालिका र रौतहटको मौलापुर गाउँपालिकाका निर्वाचन अधिकृत फेरेकोे थियो । यसअघि आयोगले खटाएका निर्वाचन अधिकृतमध्ये एक सयभन्दा बढी हेरफेर गर्नुपरेको हो ।

निर्वाचन आयोगले गत चैत्र १३ गते स्थानीय तह निर्वाचनका लागि तोकिएका छ सय ७६ जना निर्वाचन अधिकृतमध्ये अहिलेसम्म हेरफेर भएको सूची केलाउँदा एक सय १० जना पुगेको विवरण प्राप्त भएको छ । आयोगले यसलाई सामान्य प्रक्रिया भने पनि विज्ञहरुले भने, राजनीतिक दलका दबाबलाई प्रमुख कारण ठानेका छन् ।

आयोगले यसअघि सार्वजनिक गरेको सूची पटक पटक गरेर १० पटक संशोधन गरिसकेको छ । आयोगले सूची सार्वजनिक गरेको १० दिनपछि एकै पटक ८७ जनाको नाम हेरफेर गरेकोमा त्यसको सातापछि १२ जना (मुख्य निर्वाचन अधिकृतसहित) हेरफेर गरेको थियो । उक्त क्रम हिजोसम्म जारी छ ।

आयोगले जिल्ला न्यायाधीशहरूलाई मुख्य निर्वाचन अधिकृतको रुपमा खटाएकोमा यसअघि भरतपुरका मुख्य निर्वाचन अधिकृत हेरफेर गरेको थियो । मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश हेमन्त रावललाई हटाएर उनको स्थानमा न्यायाधीश प्रकाशकुमार अधिकारीलाई मुख्य निर्वाचन अधिकृत तोकिएको थियो ।

चैत २९ गते आयोगले यसअघि खटाएका १० जना निर्वाचन अधिकृतलाई हटाएर उनीहरुको स्थानमा १० जना नयाँ निर्वाचन अधिकृतलाई खटाएको थियो ।

यस्तै वैशाख १२ गते पाथिभराको याङबरङ गाउँपालिकामा पहिले खटाइएका युवराज महतको ठाउँमा महालेखा नियन्त्रक कार्यालयका छबिन्द्र बेल्वासेलाई खटाइएको थियो । यस्तै गत वैशाख ७ गते मात्र कालिकोटमा खटाइएका कालिकोट जिल्ला अदालतका प्रेमप्रकाश थापाको ठाउँमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत श्रीधर केसीलाई खटाइएको हो ।

आयोगले बैतडी र सप्तरीका दुई गाउँपालिकामा नयाँ मतदान अधिकृत नियुक्त गरेको छ । बैतडीको डिलासैनी गाउँपालिकामा निर्वाचन अधिकृतका रूपमा खटाइएका लोकबहादुर लोपचनलाई हटाएर उनको ठाउँमा विष्णुदत्त भट्टलाई खटाएको छ । सप्तरीको विष्णुपुर गाउँपालिकामा खटाइएका प्रकाशप्रसाद पोखरेललाई हटाएर उनको ठाउँमा यादवप्रसाद न्यौपानेलाई पठाएको छ ।

यो समेत गरी आयोगले पहिले खटाएकोमध्ये एक सय आठ जना निर्वाचन अधिकृतलाई हटाएर उनीहरुको ठाउँमा नयाँ निर्वाचन अधिकृत खटाएको हो । दुई जना मुख्य निर्वाचन अधिकृत हटाएर नयाँ खटाइएको छ । यस्तै १७ जनाको नाम संशोधन गर्न भ्याएको छ ।

आयोग स्रोतका अनुसार अघिल्लो साता साम्सीका निर्वाचन अधिकृत दिलीपकुमार प्रधान र बुढीगंगाका निर्वाचन अधिकृत निरञ्जन स्थापितलाई जिम्मेवारी पूरा नगरेको आरोपमा आयोगले कारबाहीको सिफारिससमेत गरेको छ । जसमध्ये बुढीगंगाका निर्वाचन अधिकृत स्थापितले तालिकाअनुसार काम नगरेको, उल्टै मादक पदार्थ सेवन गरेको अवस्थामा भेटिएपछि कारवाहीको लागि सिफारिस गरिएको हो ।यद्यपि उनले आफ्नो स्वास्थ्य समस्याका कारण फिर्ता हुनुपरेको बताउने गरेका छन् ।

अर्का एक जना निर्वाचन अधिकृतले बेरुजु नै नभएका एक उम्मेदवारविरुद्ध उजुरी परेकै आधारमा मनोनयन रद्द गर्ने जस्तो विवादित निर्णय गरेकै कारण उनलाई तान्नु परेको भन्दै आयोगले स्पष्ट पारेको छ ।

Leave a Response