माईजोगमाई सेरोफेरो

साना किसान कृषि सहकारी संस्थाको छैटौं वार्षिक साधारणसभा सम्पन्न

✍️ रोशन काफ्ले

माइजोगमाई गाउँपालिकास्थित नामसालिङ साना किसान कृषि सहकारी संस्थाले आफ्नो छैटौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
माइजोगमाई गाउँपालिका ३ र ४ वडालाई कार्यक्षेत्र बनाएर काम गर्दैआएको संस्थाले दुई ठाउँमा संस्थाको वार्षिक साधारणसभा सम्पन्न गरेको संस्था अध्यक्ष विमल पौडेलले जानकारी दिए । ४ नम्बर वडाको नेपाल ज्योति माध्यमिक विद्यालयमा संस्थाको अन्तरसमूह नम्बर ५, ६, ७, ८ र ९ तथा ३ नम्बर वडाको नामसालिङ सामुदायिक विकास केन्द्रको भवनमा अन्तरसमूह नम्बर १ देखि ४ सम्मको साधारणसभा सम्पन्न गरेको हो ।
गत आर्थिक वर्ष ०८०/२०८१ को प्रगति विवरण साथै चालु आर्थिक वर्ष ०८१/२०८२ को नीति तथा कार्यक्रम संस्थाको तर्फबाट संस्था अध्यक्ष पौडेलले प्रस्तुत गरे । संस्थाको कुल सम्पत्ति २ करोड ७३ लाख २२ हजार ९ सय ४५ छ । गत आर्थिक वर्षमा संस्थाले ३ लाख ४३ हजार १२ रुपैयाँ नाफा गरेको छ । संस्थामा ५ सय १० सेयर सदस्य छन् । गत असारसम्ममा २२ लाख ३५ हजार ९ सय सेयर पुँजी छ ।
अध्यक्ष पौडेलको अध्यक्षता, माइजोगमाई गाउँपालिका अध्यक्ष कुशबहादुर थेबेको प्रमुख आतिथ्य, गाउँपालिका उपाध्यक्ष प्रविना राईको विशेष आतिथ्यमा कार्यक्रम सम्पन्न भयो । त्यस अवसरमा संस्थाका सल्लाहकार समिति संयोजक गणेशकुमार राई, नेपालज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक भक्तराज लाम्गादे, संस्थाकी लेखा समिति संयोजक धात्रादेवी खड्का, नामसालिङ प्रहरी चौकीका इन्चार्ज, स्थानीय बुद्धिजीवीलगायतको उपस्थिति थियो ।
साधारणसभामा सेयर सदस्यका छोराछोरीमध्ये गतवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सबैभन्दा बढी  जिपिए ल्याउने नेपालज्योति मावि र नामसालिङ माविबाट २÷२ छात्रा र छात्रलाई सम्मानसहित पुरस्कृतसमेत गरियो । सबैभन्दा धेरै सेयर खरिद गर्ने २ सदस्यलाई समेत पुरस्कृत गरिएको थियो ।
सबैभन्दा धेरै अन्न (मकै) उत्पादन गर्ने र सबैभन्दा धेरै दूध बेच्ने १–१ किसानलाई सम्मानसमेत गरेको संस्थाका प्रबन्धक टेकप्रसाद आचार्यले जानकारी दिए । साधारणसभा अवसरमा नामासालिङ साना किसान कृषि सहकारी संस्थाले सेयर सदस्यहरूलाई सिजनअनुसारका विभिन्न बीउसमेत वितरण गरेको थियो । कार्यक्रमको स्वागत मन्तव्य संस्थाका सञ्चालक समिति सदस्य हरि ढकालले राखे भने कार्यक्रमको सञ्चालन संस्थाका प्रबन्धक आचार्यले गरेका थिए ।

Leave a Response