
कतार विश्वकपअन्तगर्त आज समूह चरणको खेलमा पाँच पटकको च्याम्पियन ब्राजिल र स्वीट्जरल्याण्ड आमनेसामेन हुँदैछन् । यो खेल नेपाली समयअनुसार राति ९ : ४५ बजे ९७४ स्टेडियममा हुनेछ ।
ब्राजिलका स्टार नेइमार र डिफेन्डर ड्यानीलो टिम बाहिर रहनेछन् । दुवै टिमले समूहको आफ्नो पहिलो खेलमा चोट बोकेका थिए । यदि पहिले कै फम्यार्टमा रहने हो भने नेइमारको स्थानमा प्रशिक्षक टिटेले युवा खेलाडी रोद्रिगोलाई खेलाउन सक्ने अनुमान गरिएको छ ।
२१ वर्षीय रोद्रिगोले टुरिनमा भएको विश्वकपको अभ्यास खेलमा नेइमारको स्थानमा खेलेका थिए । ड्यानीलोको स्थानमा इडर मिलीटाओले लिने देखिएको छ ।
आज पोर्चुगलका मुख्य डिफेन्डर ड्यानीलो परेरा चोटका कारण टिमका लागि उपलब्ध हुने छैनन् । उनको स्थानमा पोर्चुगलका लेजेन्ड डिफेन्डर पेपेले लिने देखिएको छ। पहिलो खेलमा उनी बेन्चमा थिए ।
यता उरुग्वे पोर्चुगलमाथि जित निकाल्दै नकआउट चरण प्रवेशका लागि सम्भावना बलियो बनाउने अपेक्षासहित मैदानमा उत्रनेछ । यी दुई टिमबीच २०१८ को रुसी विश्वकपमा नकआउट चरणमा भेट भएको थियो । जसमा उरुग्वे २ – १ गोलले विजयी भएको थियो ।
प्रशिक्षक डियगो अलेन्सोले आज सोही लय पुन: दोहोर्याउने प्रयासमा रहने बताएका छन्। यता सोही समूहको दोस्रो खेलमा दक्षिण कोरियाले घानासँग प्रतिस्पर्धा गर्नेछ । घानाका कप्तान एन्द्रु एउले आज खेलमा जित हात पार्दै अघिल्लो चरणमा प्रवेश गर्ने बताएका छन् । घाना यस अघि २०१० मा नकआउट चरणमा प्रवेश गरेको थियो । यदि आजको खेल गुमाए उसको यात्रा समूह चरणमै सकिनेछ ।