
सामान्य शारीरिक प्रक्रियाअन्तर्गत हरेक महिना हुने महिनावारीलाई अहिले पनि संकोचका साथ हेर्ने गरिन्छ । कतिपय समाजमा भने यसबारे अझै पनि खुलेर कुरा हुँदैन । तर पछिल्लो समय केही व्यावसायिक कम्पनीले तलबसहित ‘महिनावारी बिदा’ सुरु गरेपछि भने अस्ट्रेलियामा यसले चर्चा पाउन थालेको छ ।
अस्ट्रेलियाको भिक्टोरियास्थित व्यावसायिक कम्पनी भिक्टोरियन वुमेन्स ट्रस्टले सन् २०१६ देखि नै आफ्ना महिला कर्मचारीलाई महिनावारी बिदा दिन सुरु गरेको थियो । ६ वर्षअघि सुरु भएको चलन पछिल्लो समय अस्ट्रेलियाका अन्य कम्पनीले समेत पछ्याउन थालेका छन् । महिनावारी हुँदा महिलालाई हुने शारीरिक पीडाबाट आराम मिलोस् र यसप्रतिको परम्परागत सोच तथा मनस्थिति हटोस् भन्ने उद्देश्यका साथ महिनावारी बिदा सुरु गरिएको हो । हाल अस्ट्रेलियाका फ्युचर सुपर, मोडिबोडीलगायतका केही व्यावसायिक संस्थाले तलबसहितको महिनावारी बिदा दिइरहेको छन् । जसका कारण अन्य व्यवसाय पनि बिदा दिनका लागि दबाबमा परेका जनाइएको छ ।
विश्वका अन्य केही देशमा यस्तो नियम रहेको भए पनि अस्ट्रेलियाका व्यावसायिक संस्थाले नेतृत्वदायी भूमिका खेलेका जनाइएको छ । अस्ट्रेलियाका कम्पनीमा कर्मचारीको सम्झौताअनुसार विभिन्न प्रकारका तलबसहितको बिदा दिनुपर्ने सरकारी नियम छ । तर पछिल्लो समयमा सुरु भएको महिनावारी बिदा भने उक्त सम्झौता तथा सरकारी नियमभन्दा फरक हो । भिक्टोरियन वुमेन्स ट्रस्टले आफ्ना कर्मचारीलाई बर्षमा १२ दिन थप बिदा दिने गरेको छ भने मोडिबोडीले १० दिन बिदा दिने गरेको छ । यो बिदा महिनावारी भएका कारण स्वास्थ्य खराब भएर काममा आउन नसक्नेलाई मात्र नभई गर्भपतनका कारण अस्वस्थ महिलालाई समेत दिने गरिएको छ ।
यस नियमलाई लागू गरेकी मोडिबोडी पोसाक कम्पनीकी प्रमुख क्रिस्टी चोङ्ले यस्तो नियमले परम्परागत रूपमा महिनावारीलाई हेरिने दृष्टिकोणमा परिवर्तन ल्याउन मद्दत गर्ने एबीसीलाई बताएकी छिन् । उनले यिनै कारणले आफूलाई पीडा हुँदा झूटो बोल्नु नपर्ने र बिदा लिन अप्ठ्यारो महसुस नहोस् भन्नका लागि समेत यो बिदा सुरु गरिएको बताइन् । यस्तो नियम लागू गरेदेखि कर्मचारी तथा व्यवस्थापकसँगको विश्वनियता अझ बढेको उनको भनाइ छ ।
महिनावारी बिदाका कारण कार्यस्थलमा कर्मचारीको मनोबल बढ्कोे र उत्पादकत्वमा समेत सकारात्मक प्रभाव देखिएको जनाइएको छ । युनिभर्सिटी अफ सिड्नीकी प्राध्यापक मारियन बेयर्डले यस्तो नियम महिलाका लागि उपयुक्त भएको र यसले कार्यस्थलमा कामको परिणामसमेत सकारात्मक हुने दाबी गरिन् । तर महिलालाई शारीरिक रूपमा कमजोर र महिनावारी भएको समयमा कम क्षमतावान् भएको विश्लेषण हुन सक्नेतर्फ सचेत हुनुपर्ने उनको भनाइ छ । कतिपयले भने यस्तो नियमले लैंगिक विभेदको विषयलाई गलत किसिमले परिभाषित गर्न सक्ने शंका व्यक्त गरेका छन् । अस्ट्रेलियाका साथै जापान, भियतनाम, दक्षिण कोरिया, ताइवान, चीन र इन्डोनेसियामा समेत महिनावारी बिदाको नियम रहेको सीएनएनले जनाएको छ ।(epathivara)