अन्तराष्ट्रियशिक्षा / स्वस्थ्यसमाचार

मानिसको स्वास्थ्य बिगार्ने कुरकुरे, चिजबल, लेजको आयातमा प्रतिबन्ध

के तपाईं कुरकुरे, चिजबल, लेजजस्ता खानेकुराको सौखिन हुनुुहुन्छ? यदि हुनुहुन्छ भने अब तपाईंले यी अतिरिक्त स्वादयुक्त खानेकुराको लत त्याग्नुपर्ने भएको छ। किनभने यी खानाले स्वास्थ्य त बिगारेकै छन्, देशको आर्थिक स्वास्थ्यमा समेत धक्का दिएको देखिन आएको छ। त्यसैले नेपाल सरकारले अब यी खाद्यवस्तुहरुको आयातमा प्रतिबन्ध नै लगाउने निर्णय गरेको छ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा मात्रै कूल १२ लाख ९३ हजार ५६ किलो बराबरको कुरकुरे, चिजबल, लेजजस्ता सामग्री आयात भएको पाइएपछि सरकारको आँखा यी पदार्थको आयातमा पुगेको हो। पछिल्लो समयमा देशको आर्थिक अवस्थाबारे विभिन्न प्रश्न उठिरहेका बेला सरकारले बुधबारदेखि लागू हुने गरी ती सामग्री आयातमा प्रतिबन्ध लगाई मुलुकको आर्थिक स्वास्थ्य अवस्था सुधारको पहल थालेको हो।

विदेशी मुद्राको सञ्चिति ६–७ महिनाको मात्रै आयात धान्न सक्ने अवस्थामा ओर्लेपछि सरकारले यीलगायतका केही विलासिताका वस्तुको आयातमा कडाइ थालेको हो। यसअघि बैंक तथा वित्तीय संस्थाले पनि मोबाइल लगायतका सामग्रीको आयातमा एलसी नखोल्ने निर्णय गरिसकेका छन्।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरी उक्त सामग्रीको आयातमा प्रतिबन्ध लगाएको हो। भन्सार विभागका अनुसार बङ्गलादेश, चीन, भारत, इन्डोनेसिया, जापान, दक्षिण कोरिया, मलेसिया, साउदी अरब, ताइवान, अमेरिका र बेलायतबाट चिजबल, लेज, कुरकुरेजस्ता सामग्री आयात भएका छन्। ( हेल्थपोष्ट नेपाल )

Leave a Response