
स्थानीय महिलाहरूलाई सीपमूलक तालिममार्फत आत्मनिर्भर बनाउने तथा आयआर्जनका अवसर सिर्जना गर्ने उद्देश्यले माईजोगमाई गाउँपालिकाले आयोजना गरेको एक महिने ढाका बुनाई सम्बन्धी तालिम सम्पन्न भएको छ।
माईजोगमाई गाउँपालिकाको आयोजना तथा आचार्य इन्स्टिच्युट, इलाम को सहजीकरणमा सञ्चालन भएको उक्त तालिममा गाउँपालिकाका छवटै वडाबाट सहभागीहरूको सक्रिय सहभागिता रहेको थियो। एक महिनासम्म सञ्चालन गरिएको तालिममा सहभागीहरूलाई ढाका बुनाई सम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिएको थियो।
तालिम समापन कार्यक्रम माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेको अध्यक्षता तथा प्रमुख प्रशासकीय अधिकृत केशव प्रसाद आचार्यको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो।
समापन समारोहमा अतिथिहरूले तालिममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतारेर स्वरोजगार तथा उद्यमशीलतामा जोडिन आग्रह गर्नुभयो। उहाँहरूले ढाका बुनाई नेपाली मौलिक कला र संस्कृतिसँग जोडिएको महत्वपूर्ण हस्तकला भएकाले यसको संरक्षण, प्रवर्द्धन तथा व्यावसायीकरणमा यस्ता तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
वक्ताहरूले महिलाहरूको आर्थिक सशक्तीकरणका लागि सीपमूलक तालिम प्रभावकारी माध्यम भएको उल्लेख गर्दै तालिमबाट सिकेको सीपलाई उत्पादनमा रूपान्तरण गरी आयआर्जनको माध्यम बनाउन सहभागीहरूलाई प्रेरित गर्नुभयो। स्थानीय स्तरमै ढाका उत्पादन गरी बजारसँग जोड्न सके स्वरोजगारका साथै गाउँपालिकाको आर्थिक गतिविधिमा समेत सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरिएको थियो।
कार्यक्रममा सहभागीहरूले तालिमबाट ढाका बुनाई सम्बन्धी नयाँ सीप सिक्न पाएको र आगामी दिनमा यसलाई व्यवसायका रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए। तालिमले महिलाहरूलाई आत्मनिर्भर बन्ने आधार तयार गर्नुका साथै घरपरिवारको आर्थिक अवस्था सुधार गर्न र स्थानीय स्तरमा रोजगारी सिर्जना गर्न समेत महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।
समापन कार्यक्रममा जनप्रतिनिधि, गाउँपालिकाका कर्मचारी, प्रशिक्षक, तथा तालिमका सहभागीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको अन्त्यमा आयोजकले तालिम सफल बनाउन सहयोग पुर्याउने आचार्य इन्स्टिच्युट, प्रशिक्षक तथा सम्पूर्ण सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि यस्ता सीपमूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।





