नागरिकका वास्तविक आवश्यकता बुझेर थप योजना बनाउँदैछौं : कुशबहादुर थेबे
✍️ कोकिला ढकाल /शनिबार माघ २७, २०८०
इलामको माइजोगमाई गाउँपालिका अध्यक्ष कुशबहादुर थेबेले स्थानीय सरकारले गाउँपालिकाबासीको जीवनशैली र दिनचर्यामा प्रत्यक्ष सहकार्य गर्न चाहेको बताएका छन् । जनप्रतिनिधिले प्रत्यक्ष रूपमा नागरिकका आवश्यकता बुझेर थप योजना बनाउन आफूहरू क्रियाशील रहेको उनको भनाइ छ ।
गाउँपालिकामा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष थेबेले बालबालिका, युवा, महिला, ज्येष्ठ नागरिकलगायत विभिन्न समुदायसँग पालिकाले साना–ठूला सबैखाले कार्यक्रममार्फत् सहयात्रा गर्ने प्रयास गरिरहेको बताए ।
अहिले वडा–वडामा स्वास्थ्य शिविर हुन् या घर–घरमा पुगेर ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण, यी सबैखाले कार्यक्रम नागरिकको सुख–दुःखमा गाउँपालिकाले साथ दिने प्रयास भएको उनको भनाइ छ ।
‘झट्ट हेर्दा पालिकाले नागरिकलाई कपडा बाँडेको मात्रै देखिन्छ,’ उनले भने, ‘तर, त्यो कार्यक्रम स्थानीयसँग सहकार्य गर्ने माध्यममात्रै हो, हामी नागरिकका समस्या, चुनौती, सम्भावना पहिल्याउन यस्ता कार्यक्रममार्फत् स्थानीयसँग प्रत्यक्ष पुगिरहेका छौं ।’
उनले ठूलो लगानीका पूर्वाधारका कार्यक्रमले मात्रै विकास हुने नभई नागरिकका वास्तविक समस्या समाधान गर्नसकेमात्रै ‘वास्तविक’ विकास हुने बताए ।
‘नागरिकको स्वास्थ्यको अवस्था कस्तो छ, शिक्षा कस्तो छ, सबै बालबालिका विद्यालय जान पाएका छन् कि छैनन्, महिला, ज्येष्ठ नागरिकका दुःखपीडा के छन् भन्ने बुझ्न हामी टोल–टोल पुगिरहेका छौं,’ उनले भने, ‘स्थानीयका समस्या र टोल–टोलका आवश्यकता बुझेर थप योजना बनाउने हाम्रो लक्ष्य हो ।’
उनले सबै वडामा पालिकाको समन्वयमा स्वास्थ्य शिविर सम्पन्न गरिएको बताए । यो शिविरमा विद्यार्थी र ५० वर्षभन्दा माथिका नागरिकको स्वास्थ्य जाँच गरिएको थियो ।
‘स्वास्थ्य शिविरमा ज्येष्ठ नागरिक र विद्यार्थी गरी तीन हजारभन्दा धेरैले सेवा लिनुभएको छ,’ उनले भने, ‘यो एउटा देखिने उपलब्धि हो तर हामीले त्यही शिविरमार्फत् विद्यार्थी र लक्षित समूहका नागरिकका समस्या, आवश्यकता बुझ्न पाएका छौं, स्थानीय खाँचो बुझ्न पाएका छौं । कतिपय स्थानमा सम्भावना पनि थाहा पाएका छौं ।’
उनले विभिन्न कार्यक्रम लिएर वडा र टोलमा जाँदा नागरिकले आफूहरूलाई स्थानीय आवश्यकता र नागरिकका गुनासा राख्ने मौका पाएको बताए । ‘हामीले गरिरहेका काममा कतिपय गुनासा हुनसक्छन्, बुझाबुझ नभएको हुनसक्छ, यस्तो अवस्थामा नागरिकले प्रत्यक्ष रूपमा जनप्रतिनिधिलाई आफ्ना कुरा राख्ने मौका मिलेको छ,’ अध्यक्ष थेबेले भने, ‘उहाँहरूसँगको अन्तरक्रियाबाट हामीले आगामी दिनमा प्रभावकारी योजना र कार्यक्रम ल्याउने बाटो पहिल्याउँदैछौं ।’
गाउँपालिकाले वडाका ८३ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । ‘यो कार्यक्रममा पनि वडा–वडाका धेरैजसो ज्येष्ठ नागरिकसँग हाम्रो प्रत्यक्ष भेटघाट र अन्तरक्रिया भएको छ,’ अध्यक्ष थेबेले भने, ‘ज्येष्ठ नागरिकसहित स्थानीयले गाउँपालिकाले गरिरहेका गतिविधि हामीमार्फत् प्रत्यक्ष थाहा पाउनुभएको छ, यो पनि उपलब्धि हो ।’
आफूहरूले निर्वाचनमा नागरिकसँग गरेका प्रतिबद्धता कति पूरा भए, कति पूरा हुन बाँकी छन् भन्ने मूल्यांकन गरिरहेको अध्यक्ष थेबे बताउँछन् । ‘हामीले आफूहरू निर्वाचित हुनेबेला नागरिकसँग धेरैखाले प्रतिबद्धता गरेका छौं,’ उनले भने, ‘हाम्रो कार्यकालमा ती प्रतिबद्धता पूरा गर्ने हाम्रो प्रयास कायमै छ ।’
अध्यक्ष थेबेले निर्वाचनको बेलाका प्रतिबद्धतामात्र नभई समय र परिस्थितिले सिर्जना गरेका काममा समेत पालिकाले गतिविधि गरिरहेको बताए । ‘विभिन्न चुनौती पार गर्दै हामी माइजोगमाईबासीको दिनचर्या, सहज र सुविधाजनक बनाउन प्रयत्न गरिरहेका छौं,’ उनले भने, ‘यहाँका कर्मचारी, नागरिकलगायत सबैले पालिकाको सपना पूरा गर्न सहयोग गर्नुभएको छ ।’