अन्तराष्ट्रियबिश्व / प्रवासरोचक / बिश्वसमाचार

६ हजार १ सय ४८ दिनपछि पिँजडाबाट मुक्त भई ‘न्याउली’

✍️ चेतनाथ आचार्य


थाहा छैन म खुसीको कुरा लेख्दैछु अथवा दुःखको। दुई वर्षअघि प्रकाशित मेरो उपन्यास ‘रुइबा’ की मुख्य पात्र ‘न्याउली’ पिँजडाबाट मुक्त भएको कुरा खुसीकै हुनुपर्ने हो। जो-जो व्यक्तिले रुइबा उपन्यास पढ्नु भएको छ, उहाँहरूलाई न्याउलीका बारेमा राम्ररी  थाहा छ। सबै पाठकले उपन्यास पढेपछि न्याउलीलाई पिँजडाबाट निकालेर आफ्नै गुँडमा फर्काउन मलाई सुझाव दिनुभएको छ। मेरो हैसियत न्याउलीको पिँजडा भत्काउने र उनलाई मुक्त गराउन सक्ने थिएन।

उपन्यास नपढ्नु भएका पाठकलाई छोटो जानकारी दिऊँ: उत्तरी धादिङको पाबाङकी तामाङ चेली न्याउलीका श्रीमानको मलेसियामा मृत्यु हुन्छ। काखेछोरी लिएर उनी काठमाडौं आउँछिन्। छोरीलाई नक्साल बाल मन्दिरमा दान गर्छिन्। अनि दलालको फन्दामा परेर चीन उड्छिन्। चीनको भूमि टेक्नेबित्तिकै उनका हातमा हतकडी लाग्छ। २०६३ कात्तिकदेखि उनी निरन्तर चिनियाँ जेलमा थिइन्।

उनी कसरी जेल परिन् भन्ने कुरा विस्तृत रूपमा उपन्यासमा लेखिएको छ। उनले नेपालमा भोगेका पीडाका पहाडले उपन्यास भरिएको छ।

रुइबा उपन्यासको पाण्डुलिपि पढेर सुझाव दिने क्रममा वरिष्ठ साहित्यकार कृष्ण धरावासीले भन्नुभएको थियो, ‘तपाईंको उपन्यास पाठकले रूनका लागि मात्र पढ्नु पर्ने भयो भाइ। यसलाई अलिकति संयोगान्त बनाए कसो होला। न्याउली चीनको जेलबाट छुटेर नेपाल आइपुगेको भनेर उपन्यास टुङ्ग्याउन पाए पाठकलाई आनन्द अनुभूति हुने थियो।’

यथार्थमा उपन्यासकी मुख्य पात्र न्याउली चीनको जेलमै थिइन्। चीनको जेलमै थुनिएर बन्दी जीवन भोगिरहेकी पात्रलाई उपन्यासमा छुटेर नेपाल पुगेको बनाएर मैले यथार्थ बङ्ग्याउन चाहिनँ। अथवा भनौं मैले कृष्ण धरावासीले दिनु भएको सुझावलाई स्वीकार गर्न सकिनँ।

मभित्र पनि एउटा जिजीविषाको भुटभुटीचाहिँ बाँकी थियो। जेल प्रशासनका अनुसार न्याउली निकै अनुशासित र मिलनसार भएकाले उनी चाँडै छुट्ने छिन् भनिएअनुसार म पर्खँदै थिएँ। सन् २०२१ जुलाई १ तारिखमा उनी छुट्छिन् भन्ने कुरामा म निकै विश्वस्त थिएँ। उक्त दिन चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) स्थापना भएको एक सय वर्ष पुग्दै थियो। चीनमा सिपिसीको शतावार्षिकोत्सवलाई भव्य रूपमा मनाउने विभिन्न तयारी हुँदै गर्दा लामो समय बन्दी जीवन बिताएका व्यक्तिहरूको बाँकी सजाय छुट दिइएला र त्यसमा न्याउली पर्लिन् भन्ने मेरो आत्मविश्वास थियो। त्यही भएर मैले प्रकाशकसँग उपन्यासलाई बजारमा ल्याउनका लागि केही विलम्ब गरेको थिएँ। न्याउली छुटिन् भने उपन्यासलाई त्यही अनुसार टुङ्ग्याउनु पर्ला भनेर अड्काएको थिएँ।

सन् २०२१ को जुलाई १ तारिख जेलबाट छुट्ने बन्दीको नामावलीमा न्याउलीको नाम नदेखेपछि म निकै निरास भएँ र प्रकाशकलाई उपन्यास प्रकाशन गर्न भनिदिएँ।

जब उपन्यास पाठकको हातमा पुग्यो तब एकै प्रकारको प्रतिक्रिया आउन थाल्यो। ‘जसरी पनि न्याउलीलाई चीनको जेलबाट छुटाएर मातृभूमिमा ल्याउनुपर्छ’ भन्ने पाठकको साझा आवाज बन्यो। भलै मैले उपन्यासको अग्रभागमा लेखेको थिएँ, ‘यस उपन्यासमा चित्रित पात्र, घटना र स्थान काल्पनिक हुन्। कोही कसैसँग मिल्न गएमा संयोग मात्र मानिनेछ।’

मेरो दाबीलाई पूर्ण रूपमा पाठकले अस्वीकार गरिदिए। अथवा भनौं कुनै एक पाठक पनि उपन्यासको घटना र पात्रलाई काल्पनिक मान्न तयार भएन।

रुइबा उपन्यासमाथि अहिलेसम्म दुई दर्जनभन्दा बढी समीक्षा लेखिएका छन्। ती समीक्षकले पनि न्याउलीलाई जेलबाट छुटेको हेर्न चाहेको भावना व्यक्त गरेका छन्। कतिपय समीक्षकले त न्याउली जेलबाट छुटेपछि उपन्यासकारले सिक्वेलका रूपमा दोस्रो भाग ल्याउने पटाक्षेप पनि गरेका छन्। रुइबा उपन्यासमाथि गरिएका प्रतिक्रिया र समीक्षालाई मैले भेटेसम्म आफ्नो फेसबुकका भित्तामा पोष्ट्याएको छु। ती सार्वजनिक भइसकेकाले अहिले जोकोहीले मेरो फेसबुक भित्तामा गएर हेर्न सक्नुहुन्छ।

उपन्यास उपन्यासै हो। पात्रले भोगेका घटनालाई आख्यानमा ढाल्दा साहित्यिक रङ पोतिनु स्वाभाविक हो। सबै घटना समेटिँदैनन्। केही घटनालाई अलिक बढी तन्काउनु पर्ने पनि हुन्छ। सत्य घटना भए पनि अगाडि-पछाडि पर्ने र परिवेश चित्रण गर्दा सर्जकको मस्तिष्कभित्र चलेका भुँवरीहरू प्रस्फुटित भएका हुन सक्छन्। रुइबा उपन्यासमा भएको यतिमात्र हो।

धादिङको पाबाङबाट अलिअलि पखेटा लागेर उड्दै आएकी न्याउलीलाई काठमाडौं उपत्यकाले जसरी चिथोर्छ, त्यो तपाईं हामी सबैले देखे-भोगेकै घटना हुन्। पूर्व मेचीदेखि पश्चिम कालीसम्म र उत्तर हिमालदेखि दक्षिण तराईसम्म अर्थात् देशका कुनाकन्दराबाट आएका हरेक न्याउलीको साझा कहानी हो रुइबा भनेर त अधिकांश समीक्षकले औंल्याएकै छन्।

उपन्यास लेख्दा न्याउलीले भोगेको विकराल पीडा र अथाह क्रन्दन सबैको साझा हुनसक्छ भनेर मैले कहिल्यै सोचिनँ। त्यत्तिका समीक्षक र पाठकले ‘हाम्रातिर पनि छन् यस्ता न्याउलीहरू’ भन्दा पनि मलाई पत्यार लागेको छैन। एउटै व्यक्तिले आफ्नो जीवनको एक तिहाइ जीवन अवधिमै त्यत्तिको विभत्स र त्राहिमाम अनुभूति गर्नुपर्छ अथवा गर्न सक्छ भन्ने कुराको कल्पना गर्न सकिँदैन। भनिन्छ नि बाह्र वर्षमा त खोलो पनि फर्कन्छ। अँ हँ न्याउलीको जीवनमा कहिल्यै खोलो फर्किएन। कहिल्यै घाम लागेन। ठक्कर र हण्डरका सिँढीमात्र उनले चढिरहिन् सधैँ।

सन् २०२२ को अन्तमा मैले एउटा खुसीको समाचार पढ्न पाएँ। गैरआवासीय नेपाली संघको साहित्यिक विभागले प्रदान गर्ने ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’ रुइबा उपन्यासले प्राप्त गरेको समाचारले मलाई व्यक्तिगत रूपमा खुसी र हाँसो दिनुपर्थ्यो। तर, समाचार पढेपछि मेरा आँखाबाट अनायसै आँशु बगे। जसलाई केन्द्रबिन्दुमा राखेर उपन्यास लेखें त्यो उपन्यास पुरस्कृत हुँदै थियो तर न्याउली अझै पनि  पिँजडामै थिइन्।

हरेक वर्षको दशैंमा बेइजिङबाट नेपाल जाने गरेको थिएँ। सन् २०१९ पछि नेपाल नगएको साढे तीन वर्ष भएको थियो। कोभिड महामारीका कारण साढे तीन वर्षदेखि नेपाल जान पाएको थिइँन। सन् २०२३ लागेपछि चीनले कोभिडमाथि गरेको कडिकडाउ र प्रतिबन्धमाथि फुकुवा गर्‍यो। मैले नेपाल जाने तयारी गर्न थालेँ। त्यही बेला मेरो फोनको एक कलले मलाई केही आनन्द दियो। चीनको सछ्वान प्रान्तको सदरमुकाम छङ्तुमा रहेको नेपाली महावाणिज्य दूतावासबाट महावाणिज्यदूत दिनेशकुमार घिमिरेले कल गर्नुभएको रहेछ। उहाँको अप्रत्यासित सन्देशले मनमा एक प्रकारको झन्कार गुन्जियो। उहाँले भन्नुभयो, ‘आउने अगष्ट महिनामा न्याउली चीनको जेलबाट छुट्ने कुरा चिनियाँ प्रशासनले बताएको छ। तपाईं नेपाल जाँदा मिल्छ भने उहाँको परिवारसँग भेट गरेर यो समाचार सुनाउनु ल।’

साढे तीन वर्षपछि परिवारसँग प्रत्यक्ष भेट गर्न पाउँदा मेरो मन जति रमाएको थियो त्योभन्दा बढी न्याउलीका परिवारसँग भेट्ने प्रयासमा पुलकित थियो। म न्याउलीको जन्मथलो जान सक्दिनथें। गणेश हिमालको काखमा रहेको त्यो सुन्दर पाबाङ जाने रहर त थियो तर धादिङबेँसीबाट पनि निकै दुर्गम गाउँ पुग्न निकै समय लाग्थ्यो। मसँग त्यति धेरै समय थिएन। विभिन्न व्यक्तिसँगको फोन सम्पर्कपछि न्याउलीका छोराबुहारी काठमाडौंमै रहेको थाहा पाएँ। न्याउलीको छोरा मङ्गलेसँग बोल्दा म झस्किरहेको थिएँ। न्याउली मेरी उपन्यासकी मुख्यपात्र थिइन् भने मङ्गले उनको छोरा। पात्रभित्र पसेर भावुक हुँदै यथार्थमा फोनमा कुरा गरें अनि मङ्गले र उनकी श्रीमतीसँग भेट्नका लागि चाँजोपाँजो मिलाएर ललितपुरको ग्वार्कोदेखि दक्षिणपट्टि उनीहरू रहेको कोठामा पुगें।

आमाको अनुहारसम्म याद छैन मङ्गलेलाई। मेरो मोबाइलमा न्याउलीको फोटो थियो। देखाएपछि उसका आँखा भरिएर आए। भित्तातिर फर्किएर उसले आँखा पुछ्यो। बुहारी पनि भावुक बनिन्। उनी भन्दै थिइन् ‘कमलो दिलको छ यो मान्छे। सानो कुरामा पनि उसलाई रून पर्छ।’

सानो कुरा थिएन नि त्यो। झन्डै १७ वर्षदेखि बेपत्ता आमा फर्केर आउँदैछिन् भनेर थाहा पाउनु चानचुने कुरै थिएन। अझ मरे-बाँचेको थाहा नपाएको बेला सिङ्गुलै आउने कुराले मङ्गलेको भक्कानो फुटेको मलाई थाहा थियो। तर मैले केही भनिनँ। मसँग भन्नलाई कुनै शब्द पनि त थिएन। म त उपन्यासमा उभ्याइएको पात्र मङ्गलेसँग उसको अनुहार दाँजिरहेको थिएँ। उपन्यास र यथार्थको दोसाँधमा म अलमलिएको उनीहरूले थाहा पाएनन्।

न्याउलीले मङ्गलेलाई छोड्दा ऊ पाँच वर्षभन्दा केही बढीको त थियो। त्यसपछि आमा जिउँदी छन् कि मरिसकिन् उसलाई थाहा थिएन। एकाएक आमा फर्केर आउने सुनेपछि ऊ यसै फुरुङ्ग थियो। त्यसमाथि उसले मोबाइलमा आमाको फोटो देख्न पायो। संयोग कस्तो पर्‍यो भने रुइबा उपन्यासको २५२ पृष्ठमा न्याउलीले भनेकी छन् ‘आमा मरिसकेकी भए चिहानबाट सुमसुम्याउन निस्केलिन् बाहिर?, छोराले चिन्छ मलाई?’

छोराले त न्याउलीलाई फोटो हेरेरै चिनिसकेको थियो। उनकी आमा पनि धादिङमा न्याउलीकै बाटो हेरेर बसेकी छिन्।

चीनको जेलमा आजीवन कारावास सजाय पाएकी न्याउली आफ्नै गुँडमा फर्कन पाएकी छिन्। सन् २००६ अक्टोबर २६ तारिख अर्थात् २०६३ कार्तिक ९ गते बिहीबार काठमाडौँबाट छङ्तु आएकी उनी सोही दिन चिनियाँ प्रहरीको फन्दामा परेकी थिइन्। विमानस्थलबाट पक्राउ परेपछि उनलाई केही महिना प्रहरी हिरासतमा राखिएको थियो। पछि सछ्वान प्रान्तको अदालतले उनलाई आजीवन कारावास सजाय सुनाएको थियो। झन्डै १७ वर्षपछि उनको आजीवन कारावास सजायलाई छुट गर्दै चिनियाँ प्रशासनले उनलाई रिहा गरेको हो।

सन् २०२३ अगष्ट २४ तारिख अर्थात् २०८० भदौ ७ गते बिहीबार जेलबाट रिहा भएकी उनी भदौ ८ गते शुक्रबार बिहान चाइना एयरको विमानबाट काठमाडौं फर्किएकी छिन्। जीवनको कालखण्डमा न्याउलीले ६ हजार १ सय ४८ दिन अर्थात् २०२ महिना चिनियाँ कालकोठरीमा बिताएकी छिन्।

यो लेख लेख्दै गर्दा मनभरि प्रश्नहरू उकुसमुकुस छन्। नि:सहाय न्याउलीलाई छलकपट गरेर चिनियाँ जेलमा पुर्‍याउने दलालमाथि कारबाही होला? पारिवारिक विछोडको भुङ्ग्रोमा परेर काठमाडौं आएकी धादिङकी निरक्षर र सोझी चेलीलाई लोभ र प्रलोभनमा पारेर स्वार्थको रोटी सेक्नेहरू कानुनी दायरामा आउलान्? दूरदराजका नागरिकका लागि राज्यले केही पहल गर्छ कि राज्य सधैँ सहरिया सुकिलामुकिलाका लागि मात्र हो? यी डेढ दर्जन वर्षमा न्याउलीले गुमाएको इज्जत, प्रतिष्ठा, मानसम्मान, पहिचान र एक नागरिकले पाउने अधिकार फिर्ता पाउलिन्? न्याउलीका लागि बोलिदिने, न्यायको वकालत गर्ने, सुरक्षा दिलाउने र स-सम्मान पुनर्स्थापना गरिदिने संघसंस्था र नागरिक समाज छन् कि छैनन्?

यो लेखको बिट मार्नुअघि उपन्यासको नाम ‘रुइबा’ कसरी रहन गयो भन्ने बारेमा थोरै स्पष्ट पार्न चाहन्छु। तामाङ भाषामा ‘रुइ’को अर्थ हड्डी हुन्छ। छोरीचेलीलाई बिहे गरेर दिँदा भनिन्छ, ‘बाबुको थर र माइतीको हड्डीबाहेक सबै कुरा ज्वाइँको हातमा दिन्छौं।’ त्यही भएर अरू जातमा जस्तो तामाङ चेलीको थर बिहेपछि पनि परिवर्तन हुँदैन। जब चेलीको मृत्यु हुन्छ तब उनको हड्डीको सानो टुक्रा (अस्थि) माइतीलाई दिइन्छ। माइतीले मरेकी आफ्नी चेलीको अन्तिम संस्कार त्यही हड्डी लिएर गरिने प्रथालाई ‘रुइबा’ भनिन्छ। तामाङ जातिमा रुइबाको अर्थ यतिमा मात्र सीमित छैन। रुइबाको अर्थ राष्ट्र र मातृत्व पनि हुने गर्छ।

रुइबा उपन्यासको अन्तिमतिर न्याउलीले भनेकी छन् ‘म मरेपछि मेरो रुइबामाथि कसले दाबी गर्छ? मेरो माइतीले कि मेरो देशले?’

जे होस्, न्याउलीको रुइबा लिन उनका माइती अथवा देश आउनु परेन। उनी जीवितै नेपाल पुगिन्। उनले गर्नु पर्ने सङ्घर्ष भने अझै बाँकी नै छ…(सेतोपाटी)

 

Leave a Response