समाचार

माईजोगमाई गाउँपालिकामा प्रशासकीय अधिकृत बस्नेतको बिदाइ, आचार्यद्वारा कार्यभार सम्हाल्दै

रोशन काफ्ले

इलामको माईजोगमाई गाउँपालिकाको प्रशासकीय अधिकृतको परिवर्तन भएको छ । गाउँपालिकामा ३३ महिनादेखि प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका कुमार बस्नेत सञ्चार सूचना तथा प्रविधि मन्त्रालय काठमाडौं सरुवा भएका छन् भने मालपोत कार्यालय उदयपुरमा कार्यरत केशब प्रसाद आचार्यले कार्यभार सम्हालेका छन् ।
स्थानीय तह अन्तर्गत पहिलो पटक प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्न आएका आचार्यलाई गाउँपालिकाले एक कार्यक्रमका बीच स्वागत गरेको छ । सोही कार्यक्रममा सरुवा भएर जान लागेका कुमार बस्नेतलाई बिदाइ गरिएको थियो ।


कार्यक्रममा गाउँपालिका अध्यक्ष कुश बहादुर थेवे, उपाध्यक्ष प्रविना राई, कर्मचारी तथा जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
बिदाइ मन्तव्यका क्रममा कुमार बस्नेतले आफ्नो कार्यकालमा भएका कामहरूको प्रगति विवरण प्रस्तुत गर्दै साविक गाविसदेखि स्थानीय तहमा रूपान्तरण हुँदासम्म रहेको २९ करोड बेरुजु घटेर १४ करोडमा झरेको जानकारी दिएका थिए । उनले आफ्नो कार्यकालमा विभिन्न विपद्का अवस्थालाई सहज रूपमा व्यवस्थापन गरिएको तथा पालिका विभिन्न समयमा विवादमा पर्दा पनि समन्वय र सहजीकरणमार्फत पालिकाको गरिमा जोगाउन सफल भएको उल्लेख गरे ।

नवनियुक्त प्रशासकीय अधिकृत केशब प्रसाद आचार्यले स्थानीय तह आफ्नो लागि नयाँ अनुभव भए पनि नीति, नियम र विधि–प्रक्रिया पूरा भएका कामलाई सहज, पारदर्शी र प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा कर्मचारीका तर्फबाट मान बहादुर पौडेलले कर्मचारीबीच सहकार्य र समन्वयको वातावरण निर्माण गरेको भन्दै कुमार बस्नेतलाई धन्यवाद व्यक्त गरेका थिए । त्यस्तै जनप्रतिनिधिका तर्फबाट याम कुमार कार्कीले बस्नेतको कार्यशैलीको प्रशंसा गर्दै आगामी कार्ययात्राको शुभकामना दिएका थिए ।
कार्यक्रमको सञ्चालन प्रशासन शाखा प्रमुख गोकुल संजेलले गरेका थिए ।

Leave a Response