समाचार

राष्ट्रिय परिचयपत्रको सर्भर ५ दिनदेखि ठप्प, हजारौँ सेवाग्राही मर्कामा

माईजोगमाई खवर

राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीमा आएको समस्याका कारण छ दिनदेखि सेवा ठप्प हुँदा देशभरका हजारौँ सेवाग्राही मर्कामा परेका छन् । गत वैशाख २१ गतेदेखि अवरुद्ध भएको प्रणाली शुक्रबारसम्म पनि सञ्चालनमा आउन नसकेपछि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले विकल्पको खोजी सुरु गरेको छ ।

लामो समयसम्म प्रणाली मर्मत हुन नसकेपछि विभागका अधिकारीहरू अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न गृह मन्त्रालय पुगेका छन् । विभागका सूचना अधिकारी निराजन श्रेष्ठका अनुसार प्रणालीले काम नगर्दा उत्पन्न संकटबारे गृह मन्त्रालयसँग छलफल गरी पुरानै प्रणालीबाट काम अघि बढाउने वा अन्य कुनै वैकल्पिक बाटो अपनाउने भन्ने विषयमा निर्णय लिइनेछ ।

प्रणालीमा आएको खराबीले गर्दा राष्ट्रिय परिचयपत्रसँग आबद्ध सेवाहरू पूर्ण वा आंशिक रूपमा रोकिएका छन् । विशेषगरी नयाँ परिचयपत्र नम्बर (NIN) भ्यालिडेट हुन नसक्दा राहदानी विभाग र जिल्ला प्रशासन कार्यालयहरूबाट हुने राहदानी जारी गर्ने प्रक्रिया रोकिएको छ ।

त्यस्तै परिचयपत्रमा रहेका व्यक्तिगत विवरण सच्याउन चाहने सेवाग्राहीहरू रित्तो हात फर्किनु परेको छ । सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि आवश्यक पर्ने बायोमेट्रिक रुजु गर्ने कार्य ठप्प हुँदा ज्येष्ठ नागरिक र लक्षित वर्ग समस्यामा परेका छन् ।

त्यस्तै जन्म दर्ताको समयमा प्राप्त हुने व्यक्तिगत परिचय नम्बर जेनेरेट हुन छाडेको छ ।

योसँगै राष्ट्रिय परिचयपत्रको डेटा प्रयोग गर्ने अन्य सार्वजनिक सेवाहरू समेत प्रभावित भएका छन् । प्रणाली पहिले नै भ्यालिडेट भइसकेका र परिचयपत्र प्राप्त गरिसकेकाहरूको हकमा भने समस्या नरहेको विभागको दाबी छ ।

Leave a Response