काठमाडौँ
काठमाडौं महानगरपालिकाले छात्रवृत्ति वितरणको विवरण नबुझाउने ३ सय ४२ निजी विद्यालयको सूची मंगलबार सार्वजनिक गरेको छ । महानगरको शिक्षा विभागले कक्षा १० सम्मका विद्यार्थीलाई जेठ १५ गतेसम्म छात्रवृत्ति वितरण गरी सो को विवरण १६ गतेभित्र पेस गर्न सूचित गरेको थियो ।
उक्त अवधिमा छात्रवृत्तिको विवरण नबुझाउने ३ सय ४२ वटा विद्यालयको नाम गोरखापत्र दैनिकमा प्रकाशित गरिएको विभागले जनाएको छ । काठमाडौं महानगरभित्र ५२० निजी विद्यालय सञ्चालनमा रहेका छन् । ती विद्यालयलाई जेठ २८ गते भित्र छात्रवृत्ति वितरण गरी विवरण पेस गर्न पुनः म्याद दिइएको छ । सूचनामा उक्त अवधिमा पनि विवरण पेस नगर्ने विद्यालयको अनुमति/स्वीकृति रद्द वा कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ ।
शिक्षा नियमावली २०५९ र महानगरको शिक्षा ऐन २०७५ र नियमावलीमा निजी विद्यालयमा अध्ययनरतमध्ये निश्चित प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनु पर्ने व्यवस्था छ । ऐनमा भएको व्यवस्था पालना नगरे विद्यालयको स्वीकृति/अनुमतिसमेत रद्द गर्न सकिने कानुनी प्रबन्ध छ ।
ऐनअनुसार निजी विद्यालयले भर्ना भएका कुल विद्यार्थी संख्याको कम्तीमा १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनु पर्छ । त्यसका लागि सम्बन्धी वडाको वडाध्यक्ष, विद्यालय निरीक्षक, अभिभावकको प्रतिनिधिको समन्वयमा छात्रवृत्ति वितरणसम्बन्धी मापदण्ड तय गरिनुपर्छ । तर काठमाडौं महानगरपालिका छात्रवृत्ति दिने कतिपय विद्यालयले पनि आफूखुसी विद्यार्थी छनौट गर्ने गरेको अभिभावकको गुनासो छ । जनप्रतिनिधि, विद्यालय सञ्चालक र शिक्षकले आफन्त, पहुँचवालालाई भनसुनको आधारमा छात्रवृत्ति दिने गरिएको एक अभिभावकले बताए । ललितपुरसहित अन्य नगरपालिकाले पनि गत वर्षदेखि नै छात्रवृत्ति वितरणलाई पारदर्शी बनाउने प्रयास गरे पनि पूर्ण कार्यान्वयनमा आउन सकेको छैन । काठमाडौं, भक्तपुर, ललितपुरलगायत देशभरका निजी विद्यालयले छात्रवृत्ति वितरण नगर्ने र गरेपनि मापदण्डअनुसार नगरेको गुनासो छ ।
काठमाडौं महानगरले वैशाख २४ गते छात्रवृत्ति वितरणका लागि विद्यालयहरूलाई परिपत्र गरेको थियो । छात्रवृत्ति विवरण पेस गर्ने विद्यालयको सूचीसमेत वेबसाइटमा सार्वजनिक गरिने विभागले जनाएको छ । गत वर्ष पनि महानगरले १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउनुपर्ने व्यवस्था पालना गराउन सूचना जारी गरेको थियो । तर पूर्ण कार्यान्वयन हुन सकेन् । कक्षा ११–१२ सहित उच्चशिक्षामा शिक्षा नियमावली अनुसार स्कुल, क्याम्पसले उक्त छात्रवृत्ति उपलब्ध गराउनुपर्छ । शिक्षा मन्त्रालयले समेत नियमित अनुगमन नियमन गरेर कानुनी प्रावधान कार्यान्वयनमा ल्याउन सकेको छैन । पछिल्लो समय विद्यालय शिक्षा स्थानीय तहको अधिकार भन्दै शिक्षा मन्त्रालय पन्छिने गरेको छ । विश्वविद्यालयले पनि निजी क्याम्पसमा त्यसको कार्यान्वयन गराउन सकेका छैनन् ।
महानगरपालिका मेयर बालेन्द्र शाहले छात्रवृत्ति वितरण बुझाउने विद्यालयलाई धन्यवाद दिएका छन् । काठमाडौं महानगरपालिकाभित्र अध्ययनरत विद्यार्थीले नियमअनुसार पाउनु पर्ने अधिकारको बारेमा गम्भीर रहेको उनको भनाइ छ । सामाजिक सञ्चालमा लेख्दै उनले पूर्ण विवरण प्राप्त भएपछि छात्रवृत्तिको सूचीसमेत सार्वजनिक गरिने जनाएका छन् ।(Ekantipur)