समाचार

पिकअप दुर्घटनामा चालकको मृत्यु, दुई जना घाइते

माईजोगमाई खवर

इलामको सूर्योदय नगरपालिका–४ खड्का गाउँस्थित भित्री कच्ची सडकमा बाँस बोकेर जाँदै गरेको पिकअप गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

प्रहरीका अनुसार आज बिहान करिब ११ः५५ बजे खड्का गाउँबाट बमजम डाँडा तर्फ जाँदै गरेको प्र.१–०१–००१ ज ३५३२ नम्बरको पिकअप गाडी अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको थियो।

दुर्घटनामा गाडी चालक सूर्योदय नगरपालिका–४ बमजम डाँडा निवासी ४५ वर्षीय बिलास राई गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि फिक्कल अस्पताल लगिएकोमा दिउँसो १ः१५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
यस्तै, सहचालक सूर्योदय नगरपालिका–४ श्रीबुङ निवासी २० वर्षीय कुन्दन वाईबा घाइते भई श्रीनिधि अस्पताल फिक्कलमा उपचाररत छन्।

दुर्घटनामा घाइते भएका सोही स्थानका ४३ वर्षीय विशाल थुलुङ राईलाई थप उपचारका लागि बिर्तासिटी अस्पताल, झापा पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Leave a Response