संस्थागत क्षमता स्वमूल्याङ्कनमा गाउँपालिकातर्फ माईजोगमाई पहिलो
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा इलाम जिल्लामा १० स्थानीय तहमध्ये गाउँपालिकातर्फ माईजोगमाई गाउँपालिका पहिलो भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वेवसाइटमा सार्वजनिक गरेको नतिजा अनुसार गाउँपालिकातर्फ माईजोगमाई पहिलो भएको हो ।
आर्थिक वर्ष २०७८÷७९ को संस्थागत क्षमता स्वमूल्याङ्कन सम्बन्धी नतिजा अनुसार जिल्लाका ६ गाउँपालिकामध्ये माईजोगमाई गाउँपालिकाले १०० अङ्कमा ८१ दशमलव २५ अङ्क प्राप्त गरी उत्कृष्ठ स्थानीय तहमा परेको छ । समग्र पालिकामध्ये भने माईजोगमाई तेस्रो स्थानमा छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गरेको १० वटा विषयक्षेत्रका आधारमा गरिएको स्वमूल्याङ्कनमा स्वमूल्याङ्कनमा माईजोगमाईले तिन वटा विषययक्षेत्रहरुमा १०० मा १०० प्रतिशत नै अङ्क पाएको छ । शासकीय प्रबन्ध, वित्तीय एवम् आर्थिक व्यवस्थापन र न्यायिक कार्य सम्पादनमा १०० मा १०० प्रतिशत नै अङ्क प्राप्त गरेको हो । सबैभन्दा कम समन्वय र सहकार्यमा ५० प्रतिशत अङ्क पाएको छ ।
यस्तै संगठन तथा प्रशासनमा ६८ दशमलव ७५, वार्षिक बजेट तथा योजना व्यवस्थापनमा ८१ दशमलव ८२, सेवा प्रवाहमा ९२ दशमलव १९, भौतिक पूर्वाधारमा ८४ दशमलव ६२, सामाजिक समावेशीकरणमा ६० र वातावरण संरक्षण तथा विपद व्यवस्थापनमा ५५ दशमलव ५६ प्रतिशत अङ्क प्राप्त गरेको छ ।
४ नगरपालिका र ६ गाउँपालिका रहेको इलाममा समग्र जिल्लामा भने ९६ दशमलव २५ अङ्क प्राप्त गरी सूर्योदय नगरपालिका पहिलो भएको छ । दोश्रो स्थानमा परेको इलाम नगरपालिकाले ९३ अङ्क प्राप्त गरेको छ । चोथो स्थानमा चुलाचुली गाउँपालिकाले ७७ दशमलव २५ अङ्क, पाँचौ स्थानमा सन्दकपुर गाउँपालिकाले ६७ दशमलव २५ अङ्क, छैटौं स्थानमा माई नगरपालिकाले ६३ दशमलव २५ अङ्क प्राप्त गरेको छ । त्यस्तै सातौं स्थानमा फाकफोकथुम गाउँपालिकाले ६० दशमलव ७५ अङ्क, आठौं स्थानमा देउमाई नगरपालिकाले ६० दशमलव २५ अङ्क, नवौं स्थानमा माङसेबुङ गाउँपालिकाले ५७ दशमलव ५ अङ्क र दशौं अर्थात् अन्तिम स्थानमा रोङ गाउँपालिकाले ५२ अङ्क प्राप्त गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४० प्रतशितभन्दा कम अङ्क ल्याउनेलाई नाजुक, ४० देखि ६० प्रतशित अङ्क ल्याउनेलाई कमजोर, ६० देखि ८० प्रतशित अङ्क ल्याउनेलाई राम्रो, ८० प्रतिशमाथि अङ्क ल्याउनेलाई उत्कृष्ठ स्थानीय तहका रुपमा वर्गीकरण गर्ने गरेको छ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७ ले स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कनका लागि विभिन्न १० वटा विषयक्षेत्रहरु निर्धारण गरेको छ ।
मन्त्रालयले स्थानीय तहको कार्यप्रक्रिया र उपलब्धिबारे लेखाजोखा गरी सबल तथा दुर्वल पक्षको पहिचान गर्न, विकास तथा सुशासनमा रहेका कमी कमजोरीको जानकारी लिन, आवधिक समीक्षाका लागि आधार प्राप्त गर्न र गाउँपालिका तथा नगरपालिकाबीचमा तुलनायोग्य सूचक तर्जुमा गरी प्रतिस्पर्धात्मक सुधारमा अग्रसर गराई स्थानीय तहलाई सक्षम र प्रभावकारी बनाउन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८० को प्रयोजनका लागि स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि बनाएको छ ।
मन्त्रालयको कार्यविधिअनुसार शासकीय प्रबन्धतर्फ नौ, संगठन तथा प्रशासनतर्फ आठ, वार्षिक बजेट तथा योजना व्यवस्थापनतर्फ ११, वित्तीय एवं आर्थिक व्यवस्थापनतर्फ ११, सेवा प्रवाहतर्फ १६, न्यायिक कार्य सम्पादतर्फ सात, भौतिक पूर्वाधारतर्फ सात, सामाजिक समावेशीकरणतर्फ १०, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनतर्फ नौ र सहकार्य तथा समन्वयतर्फ छ कुल भार निर्धारण गरिएको छ ।(sandakpuronline)